रौतहटको चन्द्रपुर अस्पतालमा चिकित्सा विज्ञानकै दुर्लभ ‘एन काउल बर्थ’
काठमाडाैं। रौतहटको प्रमुख स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रालिमा चिकित्सा विज्ञानकै एउटा अत्यन्तै दुर्लभ, अनौठो र ऐतिहासिक घटना घटेको छ।
अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलाले गर्भभित्र बच्चा बस्ने पानीको झिल्ली अर्थात् एम्नियोटिक थैली कत्ति पनि नजुटिकन, त्यसैभित्र पूर्ण रूपमा ढाकिएको अवस्थामा प्राकृतिक रूपमा शिशुलाई जन्म दिएकी छन्।
चिकित्सा क्षेत्रमा यस प्रकारको विरल प्रसव प्रक्रियालाई ‘एन काउल बर्थ’ भनिन्छ। अस्पतालका प्रमुख डा. सुवास चौधरीका अनुसार यो घटना चिकित्सा विज्ञानमा निकै विरलै मात्र देख्न पाइन्छ। विश्वभरको चिकित्सा तथ्यांकलाई हेर्ने हो भने पनि सामान्यतया करिब ८० हजार जन्ममध्ये कुनै एक पटक मात्र यस्तो विरल संयोग हुने गर्दछ।
सामान्य प्रसव प्रक्रियामा महिलाको प्रसव पीडा सुरु भएपछि वा बच्चा जन्मिने क्रम अगाडि बढ्दै जाँदा पाठेघरभित्र रहेको पानीको थैली आफैं फुट्ने गर्दछ, जसलाई सर्वसाधारणको भाषामा ‘पानी बग्नु’ वा ‘पानी फुट्नु’ भनिन्छ।
थैली फुटेर पानी बाहिर निस्किएपछि मात्र बच्चा जन्मिने गर्दछ। तर, यस ‘एन काउल’ जन्ममा भने सो झिल्ली वा थैली कत्ति पनि नफुटिकन बच्चा पानीसहित सोही थैलीभित्रै सुरक्षित रहेर बाहिर निस्कन्छ।
जन्मिने क्रममा शिशु दुरुस्तै एउटा पानी भरिएको सानो बेलुन वा अण्डाकार पारदर्शी थैलीभित्र देखिन्छ, जहाँ उसले हातगोडा चलाइरहेको समेत प्रत्यक्ष रूपमा हेर्न सकिन्छ। शिशु यसरी थैलीसहित बाहिर आइसकेपछि चिकित्सकहरूले निकै सावधानीपूर्वक उक्त झिल्लीलाई च्यातेर बच्चालाई बाहिर निकाल्छन् र उसको श्वासप्रश्वास प्रक्रिया सुरु गराउँछन्।
चिकित्सा विज्ञानमा यसलाई एउटा विरल घटना मानिए पनि नेपाली तथा विश्व समाजमा परापूर्व कालदेखि नै यसरी झिल्लीसहित जन्मिएका बच्चालाई दैवी शक्तिको प्रतीक वा असाधारण रूपमा भाग्यशाली मान्ने प्रचलन रहिआएको छ।
यस्ता बच्चाहरूले आफ्नो जीवनमा ठूलो सफलता प्राप्त गर्ने र समाजमा विशेष योगदान पुर्याउने लोकविश्वास समेत छ। यस ऐतिहासिक घटनाबारे प्रकाश पार्दै चन्द्रपुर अस्पतालका प्रमुख डा. सुवास चौधरीले यो क्षण अस्पताल र समग्र रौतहट क्षेत्रकै लागि एक ऐतिहासिक एवं सुखद अवसर भएको बताएका छन्।
प्रसवको जटिल र संवेदनशील समयमा झिल्ली फुट्न नदिई शिशुलाई सकुशल थैलीसहित बाहिर निकाल्नु निकै चुनौतीपूर्ण कार्य भए पनि अस्पतालको कुशल प्रसूति टोली र आधुनिक उपकरणको सहयोगले यो सुरक्षित रूपमा सम्पन्न भएको उनले उल्लेख गरे।
डा. चौधरीका अनुसार हाल नवजात शिशु र आमा दुवैको स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य र स्वस्थ रहेको छ। अस्पतालभित्र घटेको यो दुर्लभ र अद्भुत दृश्य देखेपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी, उपचारका लागि आएका सेवाग्राही र शिशुका परिवारजनमा निकै उत्साह र खुसीयाली छाएको छ।
रौतहट जस्तो क्षेत्रमा रहेको स्थानीय अस्पतालले यस्तो विरल र संवेदनशील स्वास्थ्य अवस्थालाई सफलतापूर्वक व्यवस्थापन गरेर आफ्नो स्वास्थ्य सेवाको गुणस्तर, दक्षता र विश्वसनीयतालाई पुनः एकपटक प्रमाणित गरेको स्थानीय सरोकारवालाहरूले बताएका छन्।







डिसी नेपाल







Facebook Comment