आजसम्म टेकराज थामीलाई सशरीर भेट्न सकिएन : महासचिव दाहाल

डिसी नेपाल
३ असोज २०८३ १२:१४

काठमाडौं। भोटेकोशी बाढीमा बेपत्ता भएका पत्रकार तथा नेपाल थामी समाजका पूर्वउपाध्यक्ष टेकराज थामीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

गत भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर बेपत्ता भएका थामी लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले पशुपति आर्यघाटमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार कुशको शव बनाएर उनको अन्त्येष्टि गरेको हो।

बाढीमा बेपत्ता भएपछि उनको खोजीका लागि विभिन्न प्रयास गरिए पनि हालसम्म उनको अवस्था पत्ता लाग्न नसकेको परिवारले जनाएको छ।

अन्त्येष्टिपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले थामीको खोजीका लागि सरकारलगायत विभिन्न निकायसँग निरन्तर पहल गरिएको बताए।

उनले भने, ‘वरिष्ठ रिपोर्टर टेकराज थामी भदौ १० गतेको बाढीपछि सम्पर्कविहीन हुनुभएको हो। त्यसपछि उहाँको खोजीका लागि सरकारसँग समन्वय गर्नेदेखि विभिन्न प्रयास गर्यौं। तर, आजसम्म उहाँलाई सशरीर भेट्न सकिएको छैन। उहाँ लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार आज अन्त्येष्टि गर्ने निर्णय गरेको हो।’

दाहालले थामीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको चिरशान्तिको कामनाका लागि एक मिनेट मौनधारण गर्न उपस्थित सञ्चारकर्मी तथा शुभेच्छुकलाई आग्रह गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *