इस्टर्न सुगर मिल्सको कारोबार साढे १ अर्ब नजिक : उखुको बढ्दो मूल्य र भन्सार कटौतीले नाफामा चुनौती

डिसी नेपाल
२५ जेठ २०८३ १२:४३

काठमाडाैं। इस्टर्न सुगर मिल्स लिमिटेडले गत आर्थिक वर्षमा आफ्नो व्यावसायिक कारोबारमा वृद्धि गर्दै १ अर्ब ४९ करोड ३० लाख रुपैयाँ पुर्‍याएको छ। यो कारोबार अघिल्लो वर्षको १ अर्ब ४० करोड ५० लाख रुपैयाँको तुलनामा बढी हो।

रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवेदनअनुसार कम्पनीले यसअघि सन् २०२३ मा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा ९४ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो।

गत वर्ष कम्पनीले १ लाख ९१ हजार ३०२ मेट्रिक टन उखु प्रशोधन गरेको छ, जुन अघिल्लो वर्ष (सन् २०२४) को १ लाख ८५ हजार ५०४ मेट्रिक टनको तुलनामा बढी हो।

उखु प्रशोधनको परिमाण बढे तापनि चिनी उत्पादनको ‘रिकभरी रेट’ घट्दा कम्पनीको नाफामा प्रत्यक्ष असर परेको छ। उखुको गुणस्तरमा आएको समस्याका कारण चिनीको रिकभरी दर सन् २०२४ को ८.८ प्रतिशतबाट घटेर सन् २०२५ मा ८.३ प्रतिशतमा झरेको छ।

यसकै कारण कम्पनीको सञ्चालन नाफा मार्जिन (ओपीएम) समेत १५.३ प्रतिशतबाट खुम्चिएर ९.३ प्रतिशतमा सीमित हुन पुगेको इक्राको प्रतिवेदनमा उल्लेख छ।

सरकारले आर्थिक वर्ष २०२४/२५ का लागि उखुको न्यूनतम समर्थन मूल्य अघिल्लो वर्षको ५६५ रुपैयाँबाट बढाएर प्रतिक्विन्टल ५८५ रुपैयाँ निर्धारण गरेपछि कम्पनीको उत्पादन लागत बढेर नाफामा थप दबाब परेको थियो।

चालु आर्थिक वर्षका लागि त सरकारले उखुको मूल्य झनै बढाएर प्रतिक्विन्टल ६२० रुपैयाँ पुर्‍याएको छ। अर्कोतर्फ, चिनी आयातमा लाग्ने भन्सार शुल्क ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारिएकाले स्वदेशी चिनी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने र नाफा मार्जिन अझै घट्ने जोखिम बढेको छ।

आयात शुल्कमा गरिएको कटौतीले स्वदेशी उद्योगहरूलाई चुनौती थपेको भए पनि भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्धले नेपाली उद्योगहरूलाई केही समयका लागि राहत मिल्ने अपेक्षा गरिएको छ।

कम्पनीको समग्र वित्तीय अवस्था भने अझै पनि कमजोर र दबाबपूर्ण रहेको मूल्यांकन गरिएको छ। विगतको सञ्चित नोक्सानी र ऋणमा आधारित लगानीका कारण कम्पनीको पूँजी संरचना प्रभावित भएको छ।

ऋण सेवा क्षमता सन् २०२४ को १.१ गुणाबाट घटेर सन् २०२५ मा १.० गुणामा झरेको छ भने ब्याज भुक्तानी क्षमता पनि उल्लेख्य रूपमा कमजोर बनेको छ। त्यसैगरी, कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात (टीडी/ओपीबिट्डा) ५.३ गुणाबाट बढेर ९.६ गुणा पुगेको छ।

कार्यशील पूँजीको आवश्यकता पनि बढ्दै गएको छ, जसअनुसार सञ्चालन आम्दानीको तुलनामा कार्यशील पूँजीको अनुपात ३३ प्रतिशतबाट बढेर ४१ प्रतिशत पुगेको देखिन्छ।

कम्पनीको आम्दानी मुख्य रूपमा चिनी बिक्रीमा मात्रै निर्भर रहेकाले आम्दानीको स्रोत विविधीकरण नहुनुलाई प्रमुख जोखिमको रूपमा हेरिएको छ। साथै, उखु खेती मौसम, वर्षा, रोग-कीरा र कृषि-जलवायुजन्य परिस्थितिमा निर्भर रहने भएकाले चिनी उद्योगको व्यवसाय स्वभावैले चक्रीय र जोखिमयुक्त रहेको छ।

सन् १९९४ मा स्थापना भई सन् १९९६ देखि व्यावसायिक सञ्चालन सुरु गरेको इस्टर्न सुगर मिल्सको दैनिक उखु प्रशोधन क्षमता २,५०० टन रहेको छ। सुनसरी जिल्लाको अमाहीबेला क्षेत्रमा अवस्थित यो उद्योग मुख्य रूपमा नेपालका दुई ठूला व्यावसायिक घराना-गोल्छा समूह र विशाल समूहद्वारा प्रवर्द्धित छ। यसबाहेक कम्पनीमा विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरूको समेत लगानी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *