विज्ञापन प्रसारणअघि बोर्डको पूर्वस्वीकृति अनिवार्य, भ्रामक सामग्री हटाउन निर्देशन

डिसी नेपाल
१२ साउन २०८३ ११:५१

काठमाडौं। विज्ञापन बोर्डले बोर्डबाट परीक्षण तथा पूर्वस्वीकृति नलिई कुनै पनि श्रव्य, दृश्य वा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण नगर्न सञ्चारमाध्यम तथा विज्ञापनदाताहरूलाई कडा निर्देशन दिएको छ।

बोर्डले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न सञ्चारमाध्यमबाट कानूनी मापदण्डविपरीत पूर्वस्वीकृति नलिई विज्ञापनहरू प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अनुगमनका क्रममा कतिपय विज्ञापनमा विज्ञापनकर्ताको नाम, ठेगाना र अनिवार्य चेतावनीमूलक सन्देशसमेत नराखिएको पाइएको बोर्डले स्पष्ट पारेको छ।

त्यसैगरी, केही विज्ञापनमा तथ्यहीन, अतिरञ्जित र उपभोक्तालाई भ्रममा पार्ने खालका विषयवस्तु समावेश गरिएको भन्दै बोर्डले यस्ता सामग्री प्रचलित कानूनको ठाडो उल्लङ्घन भएको जनाएको छ। विज्ञापन क्षेत्रलाई मर्यादित, जिम्मेवार र उपभोक्तामैत्री बनाउन कानूनी दायराभित्रै रहेर काम गर्नुपर्नेमा बोर्डले जोड दिएको छ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ (ख) तथा विज्ञापन नियमन नियमावली, २०७७ को नियम ५ अनुसार नेपालभित्र प्रसारण हुने विज्ञापन सामग्रीको परीक्षण गर्ने अधिकार विज्ञापन बोर्डमा निहित छ। सोही कानूनी अधिकार प्रयोग गरी बोर्डले ‘विज्ञापन प्रसारण सामग्री परीक्षणसम्बन्धी मापदण्ड, २०७८ (पहिलो संशोधन, २०८०)’ लागू गरिरहेको छ।

पूर्वस्वीकृतिबिना प्रसारण हुने विज्ञापनले सर्वसाधारणमा गलत सूचना प्रवाह गर्ने र निष्पक्ष व्यावसायिक प्रतिस्पर्धामा समेत नकारात्मक असर पार्ने बोर्डको भनाइ छ।

यसैबीच, हालसम्म परीक्षण नगराई प्रसारण भइरहेका विज्ञापन सामग्रीहरूलाई तत्काल बोर्डबाट स्वीकृत गराउन र कानूनविपरीतका सामग्री तुरुन्त हटाउन सम्बन्धित विज्ञापनदाता तथा सञ्चारमाध्यमहरूलाई निर्देशन दिइएको छ। बोर्डको निर्देशन र कानूनी मापदण्डको अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कडा कारबाही प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *