कार्यान्वयन भए बजेट ऐतिहासिक दस्तावेज बन्नेछ, सुरक्षामा साइबर र एआईको दुरुपयोग नयाँ चुनौती: सांसद विक्रम थापा
काठमाडौं। प्रतिनिधिसभाका सांसद विक्रम थापाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको स्वागत गर्दै यसको पूर्ण कार्यान्वयन भएमा यो मुलुकका लागि एउटा ऐतिहासिक दस्तावेज बन्ने दाबी गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटले देशको अर्थतन्त्रलाई नयाँ र सकारात्मक दिशा दिने स्पष्ट रोडम्याप कोरेको बताए।
यो बजेटले सुशासन, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता, विज्ञान तथा प्रविधि, निजी क्षेत्रको प्रवर्द्धन, कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र नीतिगत सुधारजस्ता दूरगामी महत्वका विषयहरूलाई उचित स्थान दिएको उल्लेख गर्दै उनले यसलाई आम जनताको भरोसा जगाउने ‘युगको बजेट’ का रूपमा स्विकार्नुपर्ने धारणा राखे।
बैठकमा देशको आन्तरिक सुरक्षा व्यवस्थाका बारेमा बोल्दै सांसद थापाले आन्तरिक सुरक्षा सम्बन्धी कार्यहरू सधैँ चुनौतीपूर्ण, जटिल र संवेदनशील हुने बताए।
बदलिँदो वैश्विक परिवेशसँगै देशको आन्तरिक सुरक्षामा नयाँ प्रकारका चुनौतीहरू थपिएको भन्दै उनले सबै सुरक्षात्मक कार्यहरू कडा रूपमा देशको कानुनी परिधिभित्र रहेर मात्र सञ्चालन गरिनुपर्ने कुरामा जोड दिए।
विशेष गरी साइबर अपराध, कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो दुरुपयोग, साम्प्रदायिक द्वन्द्व, लागूऔषधको अवैध कारोबार तथा मानव बेचबिखनजस्ता आधुनिक र बहुआयामिक चुनौतीहरूले देशको सुरक्षा संयन्त्रसामु नयाँ संकट र जटिलताहरू थपिदिएको उनको भनाइ थियो।
यी आधुनिक र डिजिटल प्रकृतिका चुनौतीहरूको सफलतापूर्वक सामना गर्नका लागि पुरानो कार्यशैलीले मात्र सम्भव नहुने सांसद थापाले प्रस्ट पारे।
उनले गृह प्रशासनले समयसापेक्ष रूपमा नेपाल प्रहरी सङ्गठनको आधुनिकीकरण गर्नुपर्ने, प्रविधिमैत्री आधुनिक पूर्वाधारहरूको तत्काल विकास गर्नुपर्ने र परिस्थितिलाई पूर्ण नियन्त्रणमा राख्नका लागि नयाँ सुरक्षा रणनीतिहरू अवलम्बन गर्नुपर्ने टड्कारो आवश्यकता औंल्याए। प्रविधिको दुरुपयोग रोक्न सुरक्षा निकाय आफैँ प्रविधिमा अब्बल हुनुपर्ने भन्दै उनले यस विषयमा सरकारको गम्भीर ध्यान जानुपर्ने बताए।







डिसी नेपाल







Facebook Comment