सेनाको हेलिकप्टरबाट घर पुर्‍याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि!

डिसी नेपाल
१६ साउन २०८३ १९:०२

काठमाडौं । सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको शव शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्‍याइएको छ।

गणेशको शव सिरहाको औरही गाउँपालिका–२, तुलसियाहीस्थित निवासमा आज साँझ पुर्‍याइएको हो। शव घर पुगेपछि परिवार, आफन्त तथा स्थानीयवासी भावुक बनेका थिए।

परिवारका अनुसार हिन्दू परम्पराअनुसार आवश्यक धार्मिक विधि पूरा गरी शनिबार नै गणेशको अन्त्येष्टि गरिनेछ। अन्तिम संस्कार गागन खोलाको किनारमा गरिने तयारी गरिएको छ।

गणेशको बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको थियो। उक्त घटनापछि उत्पन्न तनाव समाधानका लागि शुक्रबार राति गृहमन्त्री सुधन गुरुङ स्वयं मृतकको घर पुगेर परिवारसँग छलफल गरेका थिए। छलफलपछि सरकार र मृतकका परिवारबीच ८ बुँदे सहमति भएको हो।

सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, मृतकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने तथा परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

त्यसैगरी, मृतकका भाइबहिनीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने र बुबाआमालाई सरकारी अस्पतालमा निःशुल्क उपचारको सुविधा उपलब्ध गराउने सहमति पनि भएको छ।

सहमतिमा गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र गणेश यादवको सम्झनामा स्मृति पार्क निर्माण गर्ने विषयसमेत समावेश गरिएको छ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ र मृतकका तर्फबाट गणेशका बुबा रामवृक्ष यादवले हस्ताक्षर गरेका छन्।

गोलबजार गोलीकाण्डपछि स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै विभिन्न पक्षबाट आवाज उठिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *