पोखरामाथि लुम्बिनीको ८ विकेटको सहज जित
काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ। यस जितसँगै तीन खेलबाट ५ अंक जोड्दै लुम्बिनी शीर्ष स्थानमा उक्लिएको छ भने पोखरा लगातार तेस्रो हार व्यहोर्दै तालिकाको पुछारमा सीमित बनेको छ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितका लागि पाएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमै मात्र २ विकेट गुमाएर सहजै भेटायो। लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रनको उत्कृष्ट योगदान दिए। पोखराका तर्फबाट विपिन खत्रीले १ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सकेको थियो।
पोखराका लागि चमिका करूणारत्नेले २५ तथा कप्तान कुशल भुर्तेलले १४ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। पोखराको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ र तिलक भण्डारीले २ विकेट लिएका थिए।
यसैबीच, आजै सम्पन्न रोमाञ्चक पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनको सुक्ष्म अन्तरले हराएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment