राप्रपामा पहिरो: नेतृ चम्पा अधिकारीद्वारा राजीनामा, अध्यक्ष लिङ्देनमाथि ‘प्रचण्ड पथ’ पछ्याएको आरोप
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ चम्पा अधिकारी ‘चाहना’ ले पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो पदबाट राजीनामा दिएकी छिन्।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै उनले बुझाएको राजीनामा पत्रमा राप्रपाको पछिल्लो कार्यशैली, वैचारिक विचलन र सत्तामोहप्रति कडा आपत्ति जनाइएको छ। राप्रपाको महिला सङ्गठनकी सचिव समेत रहेकी अधिकारीलाई केही समयअघि मात्रै पार्टीले अनुशासन उल्लङ्घनको आरोपमा निलम्बन गरेको थियो।
नेतृ अधिकारीले अध्यक्ष लिङ्देनमाथि विगतका निर्वाचनका बेला गरिएका प्रतिबद्धताहरू भुलेको र नेतृत्वमा निरङ्कुश एवं एकाङ्की चरित्र देखाएको गम्भीर आरोप लगाएकी छिन्। राजीनामा पत्रमा उनले उल्लेख गरेकी छिन्, ‘तपाईंले कमल थापाका विरुद्ध उम्मेदवारी दिँदै गर्दा गरेका वाचा सजिलै भुल्नुभयो। तपाईंमा निरङ्कुशता र एकाङ्कीपन देखियो।’
नेतृत्वले सनातन धर्म र संस्कृतिलाई केवल ‘भोट बैङ्क’ को रूपमा मात्रै प्रयोग गरेको र सङ्घीयताको ‘ललिपप’ मा अल्झिएर पार्टीका मुख्य एजेन्डाहरूलाई तिलाञ्जली दिएको उनको दाबी छ।
गत निर्वाचनमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत हुनुको मुख्य कारण नेतृत्वको त्रुटिपूर्ण कार्यशैली, अहङ्कार र अदूरदर्शिता नै भएको अधिकारीले औँल्याएकी छिन्।
चुनावअघि देशभर जित्ने दाबी गरे पनि परिणाम सोचेभन्दा विपरीत आउँदा नेतृत्वले त्यसको जवाफदेहिता लिन नसकेको उनको भनाइ छ। नेपालमा ८२ प्रतिशत हिन्दू र ९ प्रतिशत ओमकार परिवारको बाहुल्यता हुँदाहुँदै पनि सडक, सदन वा सरकार कतै पनि यो एजेन्डालाई दृढताका साथ उठाउन नसकेको भन्दै उनले अध्यक्ष लिङ्देन अब मुद्दा र विचारधाराको नेता नरहेको टिप्पणी गरेकी छिन्।
पार्टी नेतृत्व सत्ताको छिनाझपटीमा परेर सिद्धान्तहीन सम्झौतामा फसेको आरोप लगाउँदै उनले राप्रपाको वर्तमान अवस्थाप्रति तिखो प्रहार गरेकी छिन्। ‘हिजो जसले हाम्रा एजेन्डाहरूको हत्या गरे, तिनै दलहरूसँग सम्झौता गरेर पार्टीलाई रसातलमै पुर्याइयो। अझ भनौँ, पार्टी ‘प्रचण्ड पथ’ को सहायक अनुयायी बन्यो र सत्ताका लागि नीति र सिद्धान्त त्यागियो,’ राजीनामा पत्रमा भनिएको छ।
आफू बाल्यकालदेखि नै सनातन हिन्दू धर्म र राष्ट्रवादको भावनाबाट प्रेरित रहेकाले अब ‘नेता’ भन्दा पनि ‘एजेन्डा’ रोज्ने निर्णयमा पुगेको अधिकारीले स्पष्ट पारेकी छिन्। राप्रपा परित्याग गरेकी अधिकारी यतिबेला राप्रपाका पूर्वमहामन्त्री धवलशम्शेर राणाले गठन गर्न लागेको नयाँ राजनीतिक दलमा आबद्ध हुने तयारीमा रहेकी छिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment