‘मन्त्रीज्यू, तपाईं सत्ता पक्ष हो कि विपक्ष?’: संसद्मा महावीर पुन र हर्क साम्पाङबीच सवालजवाफ
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर संसद्मा गुनासो धेरै गरेको र समय खेर फाल्ने काम गरेको भन्दै कडा शब्दमा सचेत गराएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले दिएको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै सांसद साम्पाङले यस्तो धारणा राखेका हुन्।
मन्त्री पुनले मन्त्रालयका लागि आवश्यक कानुनहरू अझै बनिनसकेको र साढे ३ अर्ब रुपैयाँभन्दा बढी बजेट अबन्डा (शीर्षक नछुट्टिएको) मा रहेकाले त्यो खर्च गर्न निकै गाह्रो हुने लाचारी संसद्मा व्यक्त गरेका थिए।
मन्त्रीको सोही लामो प्रष्टीकरण र गुनासोतर्फ लक्षित गर्दै साम्पाङले सरकारमा बसेका व्यक्तिले गुनासो गर्ने नभई काम गरेर देखाउनुपर्ने स्पष्ट पारे।
मन्त्री पुन सत्ता पक्ष हुन् कि विपक्ष हुन् भन्ने कुरामा आफैँ स्पष्ट हुनुपर्ने भन्दै उनले यस्तो कानुन भएन र उस्तो भएन भनेर लामो गीत सुनाउनुको कुनै अर्थ नरहेको टिप्पणी गरे। साथै, आगामी दिनमा संसद्को समयलाई ख्याल गर्न पनि उनले मन्त्रीलाई ध्यानाकर्षण गराए।
सांसद साम्पाङले मन्त्रालयको बजेट विनियोजनमाथि पनि गम्भीर प्रश्न उठाउँदै खर्च हुनै नसक्ने र कुनै ठोस कार्यक्रम नै नभएको बजेट अबन्डामा राखिएको भन्दै असन्तुष्टि पोखे।
मन्त्रालयको २ अर्ब ५१ करोडभन्दा बढी रकम अबन्डामा राखिएको उल्लेख गर्दै उनले कुनै योजना वा कार्यक्रम नै नभई किन यसरी ठुलो रकम विनियोजन गरियो भनी मन्त्रीसँग जवाफ मागेका छन्।
कार्यक्रमबिना राखिएको यस्तो बजेटको चरम दुरुपयोग हुन सक्ने खतरा औँल्याउँदै उनले यस प्रकारका बेथितिमा विशेष ख्याल गर्न र बजेट दुरुपयोग हुन नदिन गृहकार्य गर्न मन्त्री पुनलाई कडा रूपमा सचेत गराएका छन्।







डिसी नेपाल







Facebook Comment