राप्रपाको महाधिवेशन मिति सार्वजनिक, मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो आसन्न महाधिवेशनको मिति तय गर्दै विस्तृत कार्यतालिका पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशनलाई लक्षित गरी आवश्यक सांगठनिक कार्यतालिका पारित गरिएको जानकारी दिए। राप्रपाले महाधिवेशन पूर्वका तयारीहरूका लागि समयसीमासमेत निर्धारण गरेको छ।
जसअनुसार आगामी भाद्र मसान्तभित्र देशभरका जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्ने र असोज मसान्तसम्ममा सक्रिय सदस्यता वितरणको कार्य टुङ्ग्याउने गरी कार्ययोजना तय गरिएको अध्यक्ष लिङ्देनले बताए।
त्यसैगरी, बैठकले निर्वाचन समितिले पेस गरेको नियमावली र निर्देशिकालाई समेत आवश्यक परिमार्जनसहित पारित गरेको छ। कार्यसम्पादन समितिबाट पारित गरिएका यी सबै प्रस्तावहरूलाई थप छलफल र अनुमोदनका लागि शुक्रबारबाट सुरु हुने पार्टीको केन्द्रीय समितिको बैठकमा पेस गरिनेछ।
केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समितिले तय गरेका एजेन्डाहरूमाथि आवश्यक निर्णय लिँदै महाधिवेशनको प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउनेछ।
पार्टीका आन्तरिक संरचनालाई चलायमान बनाउँदै तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्ने गरी राप्रपाले गृहकार्य अघि बढाएको छ।







डिसी नेपाल







Facebook Comment