शिक्षा र स्वास्थ्यमा लगाइएको कर फिर्ता लिन राप्रपाको माग, मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता आधारभूत सेवामा सरकारले लगाएको कर तत्काल फिर्ता लिन माग गरेको छ। काठमाडौंमा असार ५ र ६ गते दुई दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत जनताका आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रमा अनुचित करको भार थपेको भन्दै राप्रपाले त्यसको तीव्र विरोध गरेको छ। बैठकपछि जारी गरिएको निर्णयअनुसार, आम नागरिकलाई प्रत्यक्ष मार पर्ने गरी लगाइएका यी करहरूले जनजीवन कष्टकर बनाएको भन्दै फिर्ता लिन सरकारलाई दबाब दिने निर्णय गरिएको हो।
त्यसैगरी, देशमा दिनानुदिन बढ्दै गएको महँगीले सर्वसाधारणको दैनिकी कठिन बनेको निष्कर्ष निकाल्दै राप्रपाले तत्काल मूल्यवृद्धि नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ। आर्थिक अवस्था खस्किँदा र मूल्यवृद्धि हुँदा पनि सरकारले नियन्त्रणका लागि ठोस पहल नगरेको राप्रपाको ठहर छ।
केन्द्रीय कार्यसमिति बैठकले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे पनि गहन छलफल गरेको छ। मुलुकको वर्तमान आर्थिक संकट समाधान गर्न र जनताका अप्ठ्याराहरू फुकाउन पार्टीले सदन र सडक दुवै माध्यमबाट आवाज उठाउने निर्णय गरेको छ।







डिसी नेपाल







Facebook Comment