सरकारका गतिविधिप्रति कांग्रेसको खबरदारी: ‘सय दिनको उपलब्धि शून्य’

डिसी नेपाल
६ असार २०८३ १७:२३

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारका कामकारबाहीप्रति कडा असन्तुष्टि जनाउँदै सदनमार्फत सशक्त खबरदारी गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको कार्यसम्पादनको प्रारम्भिक समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले सरकारको एक सय दिनको कार्यकाल पूर्णतः असफल भएको टिप्पणी गरे। उनले भने, “सरकारले आफ्नो कार्यकालको सय दिनमा कुनै पनि उल्लेखनीय उपलब्धि हासिल गर्न सकेको छैन। हामी सरकारका प्रत्येक कदमको सूक्ष्म निगरानी गर्दै सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँ।”

महामन्त्री पौडेलले संसद्मा प्रमुख प्रतिपक्षी दलले जनजीविकासँग जोडिएका मुद्दाहरू निरन्तर उठाउँदा पनि सरकारले गम्भीरता नदेखाएको आरोप लगाए। “हामीले राष्ट्रिय महत्व र जनताका जल्दाबल्दा समस्याहरू संसद्मा उठाउँदै आएका छौँ, तर सरकारले त्यसलाई बेवास्ता गरिरहेको छ। अब हामी थप आक्रामक रूपमा खबरदारी जारी राख्नेछौँ,” उनले भने।

सरकारको कामकारबाहीलाई थप प्रभावकारी रूपमा निगरानी गर्न पार्टीले विशेष रणनीति अपनाएको छ। महामन्त्री पौडेलका अनुसार, विभिन्न मन्त्रालयले गरेका कामहरूको अध्ययन र विश्लेषण गर्न पार्टीका नेताहरूलाई जिम्मेवारी तोकिएको छ। यिनै अध्ययनका आधारमा कांग्रेसले आगामी दिनमा संसद् र सार्वजनिक मञ्चमा सरकारका कमीकमजोरी उजागर गर्ने योजना बनाएको छ।

बैठकमा संसदीय दल र पार्टीको तल्लो तहसम्मको समन्वयलाई चुस्त बनाउँदै जनसरोकारका विषयलाई राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्नेबारेसमेत छलफल भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *