रास्वपाको प्रथम महाधिवेशनका लागि चार हजार २०११ प्रतिनिधि सुनिश्चित, यस्तो छ चयनको आधार

डिसी नेपाल
७ असार २०८३ १०:०८

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आगामी प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति कुल चार हजार २११ जना प्रतिनिधि निर्धारण गरेको छ।

सातै प्रदेश, प्रवास, समायोजन तथा मनोनयनको प्रक्रिया पूरा गरी महाधिवेशन प्रतिनिधिहरू छानिएका हुन्। पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार ३३ वटा देशमा रहेका प्रवास सम्पर्क विभागबाट १७० जना र विधानबमोजिम पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन्। यसका साथै समूहगत रूपमा पार्टी प्रवेश गरेका १९२ जनालाई पनि प्रतिनिधि चयन गरिएको छ।

प्रादेशिक प्रतिनिधित्वका आधारमा बागमती प्रदेशबाट सबैभन्दा बढी ७९४ जना प्रतिनिधि सहभागी हुनेछन्। यस्तै मधेस प्रदेशबाट ६३०, लुम्बिनीबाट ६२१, सुदूरपश्चिमबाट ५०५, गण्डकीबाट ४५४, कोशीबाट ३६४ र कर्णाली प्रदेशबाट ३४३ जना महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छ।

महाधिवेशन प्रतिनिधिको मापदण्ड तय गर्दा पार्टीको तल्लो तहदेखि केन्द्रीय संरचनासम्मलाई समेटिएको छ। जसअनुसार पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, तथा जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि रहने व्यवस्था छ।

प्रदेश समितिका सम्पूर्ण सदस्य, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारीहरूले पनि प्रतिनिधिको हैसियत पाएका छन्।

नेतृत्व तह र विभागहरूको प्रतिनिधित्वका हकमा सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा क्रियाशील ३८ वटा विभागबाट प्रतिविभाग ११ जनाका दरले र केन्द्रीय निर्वाचन, अनुशासन तथा लेखा आयोगबाट ११-११ जना सहभागी हुनेछन्।

स्थानीय तहको भूगोलका आधारमा प्रत्येक गाउँपालिकाबाट एक, नगरपालिकाबाट दुई, उपमहानगरपालिकाबाट तीन र महानगरपालिकाबाट चार जना प्रतिनिधिको व्यवस्था गरिएको छ।

यसैगरी प्रदेश सम्पर्क विभागबाट तीन-तीन जना र जिल्ला सम्पर्क विभागबाट एक-एक जना चुनिएका छन्।

नेतृत्वले विगतको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरूलाई पनि समेटेको छ, जसअन्तर्गत गत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका तथा समानुपातिक सूचीमा रहेका सक्रिय व्यक्तिहरू महाधिवेशन प्रतिनिधि बनेका छन्। केन्द्रीय समितिमा समावेश नभएका बहालवाला प्रतिनिधिसभा सदस्यहरू पनि स्वतः महाधिवेशन प्रतिनिधिको रूपमा सहभागी हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *