रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेस सभापति थापा सहभागी हुने

डिसी नेपाल
७ असार २०८३ ११:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा आयोजना हुन गइरहेको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी हुने भएका छन् ।

विशेष समारोहमा भाग लिन थापा आजै चितवन प्रस्थान गर्ने कार्यक्रम रहेको छ। रास्वपाले आफ्नो यस पहिलो महाधिवेशनका अवसरमा देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको सन्दर्भमा कांग्रेस सभापति थापा त्यहाँ उपस्थित हुन लागेका हुन् ।

यसअघि आज बिहानै सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी र सो पार्टीका सभापति रवि लामिछानेलाई सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए ।

आफ्नो सन्देशमा उनले स्थापनाको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थनका साथ राष्ट्रिय राजनीतिमा आफूलाई एउटा बलियो शक्तिका रूपमा स्थापित गर्न सफल भएको भन्दै संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय रहेको उल्लेख गरेका छन् ।

साथै, यो महाधिवेशन विचार, संगठन र नीतिका दृष्टिले रास्वपालाई अझ बढी परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने एउटा ऐतिहासिक अवसर बन्ने विश्वास उनले व्यक्त गरेका छन् । महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्दै नागरिक अधिकारको संरक्षणका निम्ति पार्टीलाई वैचारिक रूपमा स्पष्ट र जनउत्तरदायी बनाउन थप गति र ऊर्जा प्रदान गर्ने अपेक्षा समेत सभापति थापाले राखेका छन् ।

भरतपुरस्थित गेष्टहाउस चौरमा हुने उक्त समुद्घाटन समारोहमा राजनीतिक दलहरूका तर्फबाट निकै उच्चस्तरको प्रतिनिधित्व रहने देखिएको छ। महाधिवेशनको औपचारिक उद्घाटन सत्रमा नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपाका नेता वर्षमान पुन तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन समेत सहभागी हुने निश्चित भइसकेको छ।

यसैगरी, वर्तमान प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह पनि महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन र सभापति रवि लामिछानेसँगै संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको शुभारम्भ गर्न आजै चितवनतर्फ प्रस्थान गरिसकेका छन् । देशभरबाट चार हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने यस महाधिवेशनलाई नेपाली राजनीतिका शीर्ष नेतृत्वले निकै चासो र महत्त्वका साथ हेरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *