बेमौसममा पनि चितवनका होटल भरिभराउ: रास्वपाको महाधिवेशनले व्यवसायीमा उत्साह

डिसी नेपाल
७ असार २०८३ १४:२९

चितवन। वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ महिनासम्म पर्यटनको बेसिजन हुने भएकाले आफ्ना कर्मचारीलाई बिदा दिने गर्दथे। सुरक्षा र सरसफाइमा खटिनेबाहेक सबैजसो कर्मचारीले बिदा पाउने यो समयमा यस वर्ष भने फरक दृश्य देखिएको छ।

असारको पहिलो साता सकिनैलाग्दा सौराहका होटलहरू मुख्य सिजनको जस्तै गरी पाहुनाहरूले भरिभराउ छन् र यतिबेला यहाँ कोठा पाउन समेत कठिन अवस्था सिर्जना भएको छ। सौराहासहित भरतपुर आसपासका होटल व्यवसायमा यस्तो भीडभाड देखिनुको मुख्य कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन हो।

प्रतिनिधिसभा सदस्यका लाग हालै सम्पन्न निर्वाचनमा दुई तिहाइ नजिकको सङ्ख्या जित्न सफल सबैभन्दा ठूलो राजनीतिक दल रास्वपाको आज भरतपुरमा उद्घाटन हुने तीन दिने राष्ट्रिय महाधिवेशनका कारण यो चहलपहल बढेको हो।

होटल व्यवसायी संघ चितवनका अनुसार रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा भाग लिन आउने स्वदेशी तथा विदेशी प्रतिनिधि, शुभेच्छुक, नेता, कार्यकर्ता, पर्यवेक्षक र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थितिका कारण बजारमा उत्साह छाएको छ।

महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिको सङ्ख्या मात्रै चार हजार दुई सय ११ रहेको छ भने समग्र महाधिवेशनका क्रममा करिब १० हजार मानिस चितवन ओर्लिएका छन्।

क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष गुणराज थपलिया रास्वपाको महाधिवेशनका कारण अहिले बेमौसममा पनि अपेक्षा गरेभन्दा बढी पर्यटक वृद्धि भएको बताउँछन्। आइतबार सार्वजनिक बिदा हुनथालेपछि यसअघि नै बजार केही चलायमान बनेको अवस्थामा महाधिवेशनले थप ऊर्जा थपेको उनको भनाइ छ। सौराहामा रहेका करिब एक सय ५० होटलको सात हजार जना सम्म राख्न सक्ने क्षमता रहेको छ।

महाधिवेशनस्थल भरतपुरबाट केही टाढा भएपनि पर्यटकीयस्थलका रूपमा परिचित सौराहा घुम्न र बस्न आउने नेता तथा कार्यकर्ताको सङ्ख्या उल्लेख्य रहेको होटल भिष्टाका सञ्चालक रमेश सिलवाल बताउँछन्।

यसअघि सम्पन्न नेकपा एमालेको महाधिवेशनपछि अहिले रास्वपाको अधिवेशनका कारण सौराहले राम्रो प्रचारप्रसार र पाहुना पाएको व्यवसायीहरूको अनुभव छ।

होटल व्यवसायी संघअन्तर्गतका सात सय ३१ होटल रेष्टुरेन्टमध्ये आवास सुविधा भएका अधिकांश होटलहरू यतिबेला प्याक भइसकेका छन्। संघका निवर्तमान अध्यक्ष कृष्ण भट्टका अनुसार गत वर्षहरूमा यतिबेला करिब ४० प्रतिशत मात्र होटल भरिने गरेकामा अहिले ८० प्रतिशतभन्दा बढी होटलहरू भरिएका छन्। स्तरीय होटल खोज्ने पाहुनाहरू सौराहालगायतका क्षेत्रमा पुगेका छन्।

भरतपुर गार्डेनका महाप्रबन्धक घनश्याम चापागाईं र दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक रमेश अधिकारीले पनि विगत केही दिनदेखि महाधिवेशनको चहलपहल र बैठकका कारण होटलका कोठाहरू खाली नभएको जानकारी दिनुभएको छ। महाधिवेशनअघि रास्वपाको केन्द्रीय समितिको बैठक पनि दियालो फुडल्याण्डमै सम्पन्न भएको थियो।

चितवनमा मात्र नभएर नवलपरासीको गैँडाकोटमा रहेका होटलहरू समेत यतिबेला भरिभराउ छन्। गैँडाकोटको द नारायणी रिसोर्टका प्रबन्ध निर्देशक रविन पण्डितले आफ्ना दुवै होटल तीन दिनदेखि पूर्ण रूपमा भरिएको बताएका छन्।

रास्वपाको भोजन तथा आवास उपसमितिका संयोजक राजन गौतमका अनुसार सहभागीहरू आफैँले कोठाको खर्च तिर्ने र यसै बहानामा घुम्न पनि पाइने भएकाले परिवारसहित आउनेहरूको सङ्ख्या ठूलो छ। होटल व्यवसायीहरूले पनि यो अवसरमा अन्य समयको भन्दा सहुलियत दरमा कोठा र खानाको व्यवस्था गरिदिएका छन्।

आयोजकले सोमबारको बन्दसत्रमा मात्र खानाको व्यवस्था गरेको र अन्य समयमा सहभागी आफैँले खानाको प्रबन्ध गर्नुपर्ने भएकाले चितवनका होटल तथा रेष्टुरेन्ट व्यवसायमा यसको प्रत्यक्ष र सकारात्मक प्रभाव परेको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *