रास्वपाको महाधिवेशन निर्वाचन तालिका सार्वजनिक: मंगलवार मतदान हुने

सभापति उम्मेदवारलाई ५१ हजार शुल्क

डिसी नेपाल
७ असार २०८३ १४:४४

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशन प्रक्रियालाई तीव्र रूपमा अगाडि बढाउँदै शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ।

सार्वजनिक तालिकाअनुसार आज राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने तयारी छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीले दिनुभएको जानकारीअनुसार सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण कार्य सुरु गरिनेछ।

यसैगरी, सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारहरूको मनोनयन दर्ता गरिनेछ भने सोही दिन साँझ ६ बजे उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन गरिने तालिका छ।

उम्मेदवारविरुद्ध दाबी-विरोधका लागि सोमबार बेलुका ६ बजेदेखि ७ बजेसम्मको समय दिइएको छ भने प्राप्त दाबी-विरोधमाथि बेलुकी ७ बजेदेखि ९ बजेसम्म जाँचबुझ गरिनेछ।

आयोगका अनुसार सोमबार राति ९:१५ बजेसम्म उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र राति ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

महाधिवेशनको मुख्य प्रक्रिया अन्तर्गत यही असार ९ गते मङ्गलवार बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान सुरु हुनेछ। पहिलो चरणमा एक जना पार्टी सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान हुने प्रमुख केसीले बताए।

मतदान सम्पन्न भएपछि दुई घण्टाभित्रै पहिलो चरणको मतगणना सकेर मतपरिणाम घोषणा गरिनेछ र त्यसलगत्तै दोस्रो चरणको मतदान प्रक्रिया अगाडि बढाइनेछ।

निर्वाचन आयोगले विभिन्न पदका लागि उम्मेदवारी शुल्क र आवश्यक समर्थकहरूको मापदण्ड पनि तय गरेको छ। जसअनुसार पार्टी सभापतिको उम्मेदवार बन्नका लागि ५१ हजार रुपैयाँ शुल्क, एक जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्नेछ।

त्यस्तै, पार्टी पदाधिकारीका लागि ४१ हजार रुपैयाँ शुल्क, एक जना प्रस्तावक र २१ जना समर्थक तथा केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ शुल्क, एक जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने व्यवस्था गरिएको छ। यस महाधिवेशनमा देशभरिबाट चुनिएका कुल ४ हजार २ सय ११ जना प्रतिनिधिहरूले मतदानमा भाग लिँदैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *