सभ्यताको मौन नक्सा: म्यागी ओ’फेरेलको ‘भूमि’ को बहुआयामिक समीक्षा
म्यागी ओ’फेरेल समकालीन विश्व साहित्यका ती दुर्लभ उपन्यासकारमध्ये एक हुन्, जसले इतिहासलाई मानव आत्माको जीवित स्पन्दनका रूपमा पुनःस्थापित गरेकी छन्।
सन् १९७२ मा उत्तरी आयरल्यान्डको कोलेरेनमा जन्मिएकी ओ’फेरेल आयरिस र बेलायती सांस्कृतिक चेतनाको अद्भुत सङ्गम हुन्। बाल्यकालमा आयरल्यान्ड, वेल्स र स्कटल्यान्डका विविध परिवेशमा हुर्किएकी उनले सीमारेखाहरू भूगोलमा मात्र होइन, पहिचान, स्मृति र संस्कृतिमा पनि कोरिने रहेछन् भन्ने गहिरो अनुभूति प्रारम्भिक जीवनमै प्राप्त गरिन्।
आठ वर्षको उमेरमा घातक इन्सेफेलाइटिस रोगका कारण उनले मृत्युको छायाको प्रत्यक्ष सामना गर्नुपर्यो। चिकित्सकहरूले उनी कहिल्यै हिँड्न नसक्ने सम्भावनासमेत व्यक्त गरेका थिए।
तर अदम्य इच्छाशक्ति, दीर्घ पुनर्स्थापना र जीवनप्रतिको अनन्त आस्थाले उनी पुनः उठिन्। यही पीडाले उनको साहित्यिक चेतनालाई असाधारण गहिराइ प्रदान गर्यो। उनका जीवनका सीमारेखाबाट फर्किएका अनुभवहरू नै उनका कृतिका उज्याला साक्षी हुन्।
क्याम्ब्रिज विश्वविद्यालयमा अंग्रेजी साहित्य अध्ययन गरेपछि उनले पत्रकारिता, सृजनात्मक लेखन र अध्यापनमार्फत आफ्नो साहित्यिक यात्रालाई विस्तार गरिन्।
उनको पहिलो उपन्यास ‘आफ्टर यु ह्याभ गन’ ले नै प्रतिष्ठित बेटी ट्रास्क पुरस्कार प्राप्त गर्दै विश्व साहित्यमा उनको आगमनको सशक्त घोषणा गर्यो। त्यसपछि ‘द ह्यान्ड द्याट फर्स्ट हेल्ड माइन’ ले कोस्टा नोभेल अवार्ड जित्यो।
‘ह्याम्नेट’ ले वुमेन्स प्राइज फर फिक्सन तथा नेशनल बुक क्रिटिक्स सर्कल अवार्ड जस्ता अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै उनलाई समकालीन ऐतिहासिक आख्यानकी अग्रणी स्रष्टाका रूपमा स्थापित गर्यो।
आत्मकथात्मक कृति ‘आइ एम, आइ एम, आइ एम’ र ऐतिहासिक उपन्यास ‘द म्यारिज पोर्ट्रेट’ हुँदै ‘भूमि’ (ल्यान्ड) सम्म आइपुग्दा उनको लेखनीले इतिहास, स्मृति, मातृत्व, मृत्यु, विस्थापन र मानवीय अस्तित्वलाई अभूतपूर्व कलात्मक उचाइमा पुर्याएको छ।
ओ’फेरेलका उपन्यासहरूमा इतिहास बोल्छ, प्रकृति सम्झिन्छ, मौन संवाद गर्छ र मानव आत्माले आफ्नो हराएको परिचय खोज्छ। उनको गद्यमा कविताको संगीत छ, दर्शनको गाम्भीर्य छ र आध्यात्मिक संवेदनाको उज्यालो छ।
उनी पात्रहरूलाई घटनाभन्दा बढी अन्तःकरणभित्र यात्रा गराउँछिन्। यही कारण उनको साहित्यले पाठकलाई कथा मात्र सुनाउँदैन, आत्मदर्शनको यात्रामा निम्त्याउँछ।
साहित्यिक दृष्टिले म्यागी ओ’फेरेललाई भर्जिनिया वुल्फको मनोवैज्ञानिक सूक्ष्मता, टोनी मोरिसनको ऐतिहासिक करुणा, हिलारी म्यान्टेलको ऐतिहासिक प्रामाणिकता, काजुओ इशिगुरोको मौन संवेदना र गाब्रिएल गार्सिया मार्केजको स्मृतिमय सौन्दर्यसँग तुलना गर्न सकिन्छ।
तथापि उनको स्वर पूर्णतः मौलिक छ। उनले इतिहासलाई तथ्यबाट अनुभूतिमा, र पीडालाई साहित्यिक सौन्दर्यमा रूपान्तरण गर्ने अद्वितीय क्षमता विकास गरेकी छन्।
आज म्यागी ओ’फेरेल मानव स्मृतिकी संरक्षिका, इतिहासकी संवेदनशील व्याख्याता र विश्व साहित्यमा करुणा, सौन्दर्य तथा आध्यात्मिक चेतनाको दुर्लभ ज्योतिपुञ्जका रूपमा प्रतिष्ठित छिन्। उनका कृतिहरूले प्रमाणित गरेका छन् कि महान् साहित्य समयको दर्पण मात्र होइन, मानव आत्माको शाश्वत आलोक पनि हो।
केही उपन्यास कथा मात्र हुँदैनन्, ती सभ्यताको मौन अभिलेख बन्छन्, जहाँ समयले आफ्ना अव्यक्त घाउ, विस्मृत स्मृति र मानवताको चेतनालाई शब्दभित्र सुरक्षित राखेको हुन्छ। केही पात्र मानिस मात्र हुँदैनन्, उनीहरू आफ्नै युगका साक्षी, इतिहासका संवाहक र मानवीय आत्मसंघर्षका जीवित प्रतीक बन्छन्।
त्यसैगरी, केही भूमि भूगोलको सीमित परिभाषामा मात्र अडिँदैन, त्यो स्मृतिको शाश्वत आधार, पहिचानको मूल स्रोत, संस्कृतिको मौन अभिलेख र आत्माको आदिम निवासमा रूपान्तरित हुन्छ।
त्यहाँ माटोले इतिहास सम्झन्छ, नदीले समय बोक्छ, हावाले पुर्खाका आवाजहरू सुनाउँछ र प्रत्येक ढुङ्गाले सभ्यताको कथा बोकेको हुन्छ। म्यागी ओ’फेरेलको दशौँ ऐतिहासिक उपन्यास ‘भूमि’ यस्तै दुर्लभ कृति हो।
यसले उन्नाइसौँ शताब्दीको आयरल्यान्डलाई केवल राजनीतिक इतिहासका रूपमा प्रस्तुत गर्दैन। यसले भूमिलाई चेतनाको जीवित शरीरका रूपमा पढ्छ। उपन्यासको प्रत्येक पृष्ठमा माटो बोल्छ, नदी सम्झिन्छ, पहाड मौन रहन्छ र मानिस आफ्नो हराएको नाम खोज्दै भौँतारिन्छ। यही कारण ‘भूमि’ इतिहासभन्दा धेरै दर्शन हो, भूगोलभन्दा धेरै आध्यात्मिकता हो र पारिवारिक गाथाभन्दा धेरै मानव सभ्यताको आत्मस्वीकृति हो।
उपन्यास सन् १८६५ को आयरल्यान्डबाट आरम्भ हुन्छ। महादुर्भिक्षको विनाशकारी छाया अझै हटेको छैन। गाउँहरू उजाड छन्, परिवारहरू टुक्रिएका छन् र स्मृतिहरू धुवाँझैँ आकाशमा तैरिरहेका छन्।
यही उजाड समयभित्र टमास नामक एक आयरिस नक्साकार प्रवेश गर्छ। ऊ ब्रिटिश अर्डनेन्स सर्वेका लागि भूमि नापिरहेको छ। तर ऊ भूभाग मात्र मापन गरिरहेको छैन, ऊ अनाहक आफ्नै इतिहास मेटाउने साम्राज्यको औजार बनिरहेको छ।
यही नै उपन्यासको पहिलो नैतिक द्वन्द्व हो। ओ’फेरेलले टमासलाई कुनै वीर नायक बनाएकी छैनन्। उनी दोष, अपराधबोध, करुणा र मौनताले बनेका साधारण मानिस हुन्। उनको आत्मा दुई विपरीत शक्तिबीच च्यातिएको छ।
एकातिर जीविका छ, अर्कोतिर जन्मभूमि। एकातिर औपनिवेशिक आदेश छ, अर्कोतिर पुर्खाको स्मृति। यो द्वन्द्व यति सूक्ष्म छ कि पाठकले उसको मौनतालाई पनि संवादझैँ सुन्न थाल्छ।
उपन्यासको सबैभन्दा शक्तिशाली दृश्य प्राचीन पवित्र झरनासँग जोडिएको आध्यात्मिक अनुभूति हो। त्यहाँ कुनै ठूलो चमत्कार हुँदैन, कुनै देवदूत झर्दैन, न त कुनै धार्मिक घोषणापत्र नै सुनिन्छ; त्यहाँ केवल पूर्ण मौनता हुन्छ। यही मौनमा टमास आफ्नो आत्मासँग भेट्छ।
आधुनिक साहित्यमा यस्तो आध्यात्मिक जागरण दुर्लभ छ। यो घटना ‘सिद्धार्थ’ उपन्यासमा नदीसँग भएको अनुभूतिसँग मिल्दोजुल्दो छ। तर यहाँ नदी होइन, भूमि बोल्छ। पानीले होइन, माटोले दीक्षा दिन्छ।
त्यसपछि टमास हराउँछ र ऊ ब्रिटिश साम्राज्यको नक्सा त्यागेर आफ्नो निजी नक्सा बनाउन थाल्छ। यही क्षण उपन्यास राजनीतिक विद्रोहबाट आध्यात्मिक घोषणामा रूपान्तरण हुन्छ।
उसले बनाएको निजी नक्सा कुनै सैन्य दस्तावेज होइन, त्यो त स्मृतिको पुनर्जन्म हो। त्यहाँ हराइसकेका गाउँ, पुराना आयरिस नाम, काटिएका वनहरू र मेटाइएका समाधिहरू छन्। अर्थात् नक्सा यहाँ भूगोल होइन, न्यायको अर्को भाषा बन्छ।
यही विचारले अर्जेन्टिनाका लेखक जर्ज लुइस बोर्खेसको भूलभुलैया सम्झाउँछ। बोर्खेसका नक्साहरू अनन्त सम्भावनाका प्रतीक हुन् भने ओ’फेरेलको नक्सा स्मृतिको मुक्ति हो।
बोर्खेसले वास्तविकतामाथि प्रश्न गर्छन्, ओ’फेरेलले वास्तविकतालाई पुनः नाम दिन्छिन्। उपन्यासको संरचना दुई भागमा विभाजित छ। पहिलो भाग अत्यन्त घना, अन्तर्मुखी र मनोवैज्ञानिक छ भने दोस्रो भाग अचानक विश्वव्यापी बन्न पुग्छ।
कथामा छोरा लियाम भारतको कलकत्ता पुग्छ र छोरी एन्डा क्यानडाको क्युबेकतिर लाग्छे। यसरी आयरल्यान्डको पीडा विश्वव्यापी आप्रवासनको साझा कथामा बदलिन्छ। लेखकले देखाएकी छन् कि एउटा देशको घाउ केवल त्यही देशभित्र सीमित रहँदैन, त्यसले महादेश, पुस्ता र भाषाहरू समेत पार गर्छ।
लियामको भारत यात्रा विशेष रूपमा महत्त्वपूर्ण छ। आयरल्यान्ड आफैँ उपनिवेश थियो र भारत पनि उपनिवेश नै थियो। यी दुई भूगोलहरू उपन्यासमा मौन संवाद गर्छन्। त्यहाँ कुनै भाषण वा राजनीतिक नाराबाजी छैन, तर पाठकले सहजै बुझ्छ कि साम्राज्य जहाँ पुगे पनि पहिलो आक्रमण भूमिको नाममाथि हुन्छ, त्यसपछि स्मृतिमाथि र अन्ततः आत्मामाथि हुन्छ।
यही प्रसंगमा यो उपन्यास चिनुआ अचेबेको ‘थिङ्स फल अपार्ट’ सँग संवाद गर्न थाल्छ। अचेबेले अफ्रिकी आत्माको विघटन देखाउँछन् भने ओ’फेरेलले आयरिस स्मृतिको विघटन देखाउँछिन्। दुवैले एउटै शाश्वत सत्य ओकल्छन् कि उपनिवेशले पहिले भाषा मार्छ, त्यसपछि इतिहास र अन्त्यमा मानिसलाई आफ्नै भूमिमा पराइ बनाइदिन्छ।
ओ’फेरेलको भाषाशैली अत्यन्त कवितामय छ। उनी दृश्यको वर्णन मात्र गर्दिनन्, बरु दृश्यलाई श्वास दिन्छिन्। चट्टानहरू उनीकहाँ पात्र हुन्, घाँस साक्षी हो, समुद्र समयको अनुहार हो र हावा स्मृतिको आवाज हो।
यस्तो प्रकृतिमूलक लेखनले भर्जिनिया वुल्फको चेतनाप्रवाह, थोमस हार्डीको ग्रामीण करुणा र विलियम फकनरको भूगोल-चेतनालाई एकैसाथ सम्झाइदिन्छ। तर अन्ततः ओ’फेरेल आफ्नै स्वतन्त्र स्वरमा उभिन्छिन्। उपन्यासमा समयको अवधारणा अत्यन्त गहिरो छ।
मानिस केही दशक मात्र बाँच्छ, तर पृथ्वी करोडौँ वर्षदेखि मौन छ। यस तुलनाले मानव अहङ्कारलाई समूल भत्काउँछ। हामी आफूलाई इतिहासको केन्द्र सम्झन्छौँ, तर पृथ्वीका लागि हामी केवल एक क्षण मात्र हौँ। यो दृष्टि वैज्ञानिक, दार्शनिक र आध्यात्मिक रूपमा उत्तिकै सबल छ।
यहाँ मलाई भारतीय उपनिषद्को वाक्य “सर्वं खल्विदं ब्रह्म” स्मरण हुन्छ, अर्थात् सम्पूर्ण अस्तित्व एउटै चेतनाको विस्तार हो। ‘भूमि’ ले यही अनुभूतिलाई आधुनिक साहित्यिक भाषामा पुनः अभिव्यक्त गर्छ। भूमि बाहिरको वस्तु होइन, हामी स्वयं भूमिको विस्तार हौँ।
टमासको निजी नक्सा वास्तवमा आत्मज्ञानको नक्सा हो। सही नामकरण नै मुक्ति हो र कुनै नदीलाई उसको मौलिक नामबाट बोलाउनु नैतिक उत्तरदायित्व हो। यही कारण उपन्यासले भाषा र भूगोलबीच अद्भुत सम्बन्ध स्थापित गर्छ।
ओ’फेरेलले कुनै पात्रलाई पूर्ण पवित्र वा पूर्ण दुष्ट बनाएकी छैनन्, यही नै उनको कलात्मक परिपक्वता हो। ब्रिटिश अधिकारीहरू पनि यान्त्रिक संरचनाभित्र फसेका मानिस हुन् भने आयरिस पात्रहरू पनि त्रुटिरहित छैनन्। यसले उपन्यासलाई प्रचारात्मक हुनबाट जोगाएको छ। साहित्यको असली शक्ति नै यही हो कि यसले तयारी निर्णयभन्दा धेरै गम्भीर प्रश्नहरू जन्माउँछ।
उपन्यासमा पारिवारिक सम्बन्धको चित्रण अत्यन्त सूक्ष्म छ। पिता र पुत्रबीच धेरै संवाद छैन, तर मौनताभित्र असंख्य भावनाहरू लुकेका छन्। आमा र छोरीबीच भविष्यको चिन्ता छ।
परिवार यहाँ कुनै सुरक्षित घर होइन, बरु परिवर्तनको एउटा नदी हो, जहाँ प्रत्येक सदस्य आफ्नै नियतितिर बगिरहेका छन्। यही कारण उपन्यास निजी दुःख र सामूहिक इतिहासलाई एउटै श्वासमा बाँध्न सफल भएको छ।
ओ’फेरेलले भोकलाई केवल पेटको समस्या मानेकी छैनन्; भोक यहाँ स्मृतिको, पहिचानको र न्यायको पनि हुन्छ। यस अर्थमा ‘भूमि’ ले महादुर्भिक्षलाई केवल आर्थिक दुर्घटनाका रूपमा नभई एक सांस्कृतिक प्रलयका रूपमा व्याख्या गर्छ।
उपन्यासको सबैभन्दा सुन्दर पक्ष यसको मौनता हो। आधुनिक उपन्यासहरू प्रायः धेरै बोल्छन्, तर ‘Land’ ले भने धेरै सुन्छ। पाठकले वाक्यहरूबीचको खाली ठाउँ पनि पढ्नुपर्छ, किनकि त्यही रिक्ततामा वास्तविक कथा लुकेको हुन्छ।
‘भूमि’ ले एउटा राष्ट्रको घाउलाई मानव सभ्यताको साझा अनुभूतिमा रूपान्तरण गर्छ। दार्शनिक दृष्टिले हेर्दा यो कृति मार्टिन हाइडेगरको ‘ड्वेलिङ’ (Dwelling) अवधारणासँग निकट देखिन्छ। मानिस घरमा मात्र बस्दैन, ऊ भूमिमा, भूमिसँग र भूमिभित्र बस्छ। यही बसाइ नै अस्तित्वको आधार हो र ओ’फेरेलले यस विचारलाई सुन्दर कथा बनाएर देखाएकी छन्।
आध्यात्मिक दृष्टिले यो उपन्यास कुनै निश्चित धर्मको पक्षधर होइन, तर यसले पवित्रताको नयाँ परिभाषा दिन्छ। पवित्रता मन्दिर वा नदीमा मात्र हुँदैन, त्यो भूमिको स्मृतिमा, कुनै पुरानो रूखमा वा कुनै मौन झरनामा पनि हुन्छ।
यही दृष्टिले ‘भूमि’ पूर्वीय दर्शनसँग आश्चर्यजनक रूपमा संवाद गर्छ। विश्व साहित्यसँग तुलना गर्दा यस उपन्यासमा टोनी मोरिसनको ऐतिहासिक पीडा, गाब्रिएल गार्सिया मार्केजको स्मृतिमय भूगोल, ओरहान पामुकको पहिचान संकट, अमिताव घोषको औपनिवेशिक संवेदना, काजुओ इशिगुरोको मौन मनोविज्ञान र जोसे सारामागोको नैतिक प्रश्नहरूको सुन्दर प्रतिध्वनि भेटिन्छ। तर यी सबै प्रभावहरूका बीच पनि ओ’फेरेलको स्वर स्वतन्त्र, स्वाभाविक र अत्यन्त मौलिक देखिन्छ।
साहित्यिक दृष्टिले उपन्यासका प्रतीकहरू अत्यन्त सशक्त छन्। यहाँ नक्सा स्मृति हो, झरना आत्मदीक्षा हो, समुद्र समय हो, चट्टान धैर्य हो, भाषा प्रतिरोध हो, यात्रा नियति हो, घर खोजी हो र भूमि नै अस्तित्व हो। यी प्रतीकहरूले उपन्यासलाई बहुस्तरीय रूपकमा परिणत गरेका छन्।
भाषिक सौन्दर्य यसको अर्को विशिष्ट शक्ति हो। वाक्यहरू छोटा भए पनि अर्थ निकै गहिरो छ। दृश्यहरू शान्त छन्, तर भावनाहरू प्रबल छन्। लेखकले शब्दहरू मात्र लेखेकी छैनन्, उनले मौनताका आकारहरू कोरेकी छन्।
यस कृतिमा इतिहास र मिथकको सन्तुलन अद्भुत छ। तथ्यहरू विश्वसनीय हुनुका साथै लोकविश्वासहरू पनि सम्मानित छन्। आधुनिक विवेक र प्राचीन आध्यात्मिकता यहाँ विरोधी नभएर परिपूरक बनेका छन्। यही कारण उपन्यासले बौद्धिक र भावनात्मक दुवै तहमा पाठकलाई गहिरोसँग स्पर्श गर्छ।
‘भूमि’ को सबैभन्दा ठूलो उपलब्धि भनेको भूमिलाई वस्तुबाट सम्बन्धमा रूपान्तरण गर्नु हो। हामी जमिनको मालिक होइनौँ, हामी त यसका अस्थायी यात्री मात्र हौँ। भूमि हामीभन्दा धेरै पुरानो र धैर्यवान् छ र यो हामीपछि पनि रहनेछ।
यो अनुभूति पर्यावरणीय नैतिकताको पनि प्रमुख आधार हो। समकालीन विश्व जलवायु सङ्कट, आप्रवासन, युद्ध र सांस्कृतिक विस्थापनबाट गुजरिरहेको छ। यस्तो समयमा ‘भूमि’ असाध्यै सान्दर्भिक कृति बनेर आएको छ। सभ्यता स्मृतिले टिक्छ, भाषाले टिक्छ र भूमिसँगको नैतिक सम्बन्धले टिक्छ।
पुस्तकको अन्तिम प्रभाव अत्यन्त दीर्घकालीन छ। कथा समाप्त हुन्छ, तर प्रश्नहरू समाप्त हुँदैनन्। मेरो भूमि कहाँ छ? मेरो भाषा कहाँ छ? मेरो स्मृति कसले लेखिरहेको छ? र मैले आफ्नो आत्माको नक्सा कहिले कोर्ने? यही प्रश्नहरूले ‘भूमि’ लाई सामान्य ऐतिहासिक उपन्यासभन्दा धेरै माथि उठाएका छन्। यो इतिहासको पुनर्कथन मात्र नभएर अस्तित्वको पुनर्पाठ हो।
यो आयरल्यान्डको कथा मात्र होइन, संसारका सबै विस्थापित मानिसहरूको मौन जीवनी हो। म्यागी ओ’फेरेलको ‘भूमि’ आधुनिक विश्व साहित्यको अत्यन्त महत्त्वपूर्ण उपलब्धि हो। यसले पाठकलाई आत्मपरीक्षण गराउँछ, भूमिलाई नयाँ आँखाले हेर्न सिकाउँछ, नामको नैतिकता बुझाउँछ र स्मृतिको पवित्रता अनुभूति गराउँछ।
मानिस भूमिको मालिक कहिल्यै हुँदैन, मानिस भूमिको स्मृतिभित्र केही समयका लागि कोरिएको एउटा क्षण मात्र हो। यही क्षणलाई अर्थपूर्ण बनाउनु नै जीवनको सबैभन्दा ठूलो आध्यात्मिक यात्राको प्रारम्भ हो।












Facebook Comment