विपद्सम्बन्धी हटलाइन नम्बर ‘१२३४’ अब सबै जिल्लामा, सेवा २४सै घण्टा उपलब्ध हुने
काठमाडौं। नेपाल सरकार गृह मन्त्रालयले विपद्सम्बन्धी घटना, गुनासा, सूचना संकलन तथा उद्धार कार्यलाई थप गतिलो, सहज र प्रभावकारी बनाउन विशेष कदम चालेको छ।
मन्त्रालयले यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल-फ्री नम्बर ११४९ लाई परिमार्जन र रूपान्तरण गरी नयाँ हटलाइन नम्बर १२३४ लाई देशैभरका जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको हो।
गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार यो नयाँ प्रविधिमैत्री व्यवस्था लागू भएसँगै अब नागरिकहरूले विपद्का समयमा आफ्नो जिल्लाबाटै सिधै सम्बन्धित निकायमा सम्पर्क गरी मद्दत माग्न सक्नेछन्।
नयाँ प्राविधिक प्रणालीअनुसार काठमाडौँ उपत्यकाभित्रका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट कसैले १२३४ नम्बरमा फोन गरेमा उक्त फोन सिधै सिंहदरबारस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा जडान हुनेछ।
त्यस्तै, उपत्यकाबाहिरका अन्य ७४ जिल्लाबाट सोही नम्बरमा डायल गर्दा फोन सम्बन्धित जिल्लाकै जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा स्वतः ‘राउटिङ’ अर्थात् ट्रान्सफर हुने व्यवस्था मिलाइएको छ।
यसरी नागरिकले आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष र द्रुत सम्पर्क स्थापित गर्न सक्ने भएकाले विपद्को समयमा उद्धार, आपसी समन्वय र राहत सेवा प्रवाह विगतको तुलनामा अझ बढी प्रभावकारी र परिणाममुखी हुने विश्वास मन्त्रालयले लिएको छ।
यो नयाँ व्यवस्था सरकारको शासकीय सुधारको रणनीतिक योजनाअनुसार कार्यान्वयनमा ल्याइएको हो। मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले शासकीय सुधार कार्यसूचीअनुसार नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्दै नागरिक सेवालाई जनउत्तरदायी, परिणाममुखी र प्रभावकारी बनाउने दृढ नीति लिएको थियो।
सोही नीतिलाई व्यावहारिक रूप दिन गृह मन्त्रालयले देशका सबै ७७ वटै जिल्लामा रहेका जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूलाई दिनरात अर्थात् २४सै घण्टा सञ्चालनमा रहने गरी विशेष व्यवस्था मिलाएको छ।
मन्त्रालयले मनसुन तथा अन्य विपद्को यस संवेदनशील समयमा नेपाल सरकारका आधिकारिक निकायबाट जारी हुने सूचना तथा पूर्वसूचनाहरूलाई गम्भीरतापूर्वक पालना गर्न र कुनै पनि आपत्कालीन अवस्था वा उद्धारका लागि तत्काल १२३४ नम्बरमा सम्पर्क राख्न आम नागरिकमा हार्दिक आग्रह गरेको छ।






डिसी नेपाल





Facebook Comment