कम्प्युटर र मोबाइलको अत्यधिक प्रयोगले युवामा ढाड र कम्मर दुखाइको महामारी, यस्ता छन् बच्ने उपाय
काठमाडौं। पछिल्लो समय कम्मर तथा ढाड दुखाइको समस्या युवादेखि वृद्धसम्मका मानिसमा तीव्र रूपमा बढ्दै जान थालेको छ।
पहिले उमेर बढेसँगै देखिने प्राकृतिक समस्या मानिने कम्मर दुखाइ अहिले लामो समयसम्म एकै ठाउँमा बस्ने बानी, शारीरिक गतिविधिको कमी, कार्यालयमा कम्प्युटरअघि निरन्तर काम गर्ने जीवनशैली तथा नियमित व्यायामको अभावका कारण युवा पुस्तामा पनि व्यापक रूपमा देखिन थालेको हो।
हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. विनोद विजुक्छेका अनुसार ढाड तथा कम्मर दुखाइ विश्वभरि नै अस्पताल पुग्ने प्रमुख कारणहरूमध्ये एक हो। अधिकांश मानिसमा देखिने यस प्रकारको ढाड दुखाइलाई चिकित्सकीय भाषामा ‘मेकानिकल ब्याक पेन’ भनिन्छ, जुन गलत बसाइ, काम गर्ने गलत तरिका, उमेरको प्रभाव तथा शरीरको अत्यधिक तौलका कारण उत्पन्न हुने गर्दछ। आराम गर्दा वा सुत्दा कम हुने तर हिँडडुल गर्दा, सामान उठाउँदा वा शारीरिक गतिविधि गर्दा कम्मरको भागमा मात्रै बढी दुखाइ महसुस हुनु नै मेकानिकल ब्याक पेनको मुख्य लक्षण हो।
मेरुदण्डमा देखिने समस्याहरूमा मेकानिकल ब्याक पेन बाहेक ढाड बाङ्गो हुने समस्या अर्थात् ‘स्कोलियोसिस’, मेरुदण्डको इन्फेक्सन वा हड्डीको क्षयरोग (टिभी) हुने जोखिम पनि रहन्छ। यसका साथै कतिपयमा हड्डीको क्यान्सर वा मेरुदण्डको बाथ जसलाई ‘आन्कायलोजिङ स्पोन्डिलाइटिस’ भनिन्छ, त्यस्ता समस्याहरू समेत देखा पर्न सक्छन्।
डा. विजुक्छेका अनुसार नसा च्यापिएको अवस्थाको दुखाइ भने मेकानिकल ब्याक पेनभन्दा निकै फरक हुन्छ। नसा च्यापिँदा दुखाइ कम्मरमा मात्र सीमित नरही खुट्टातर्फ फैलिने गर्दछ, जसमा विशेष गरी मेरुदण्डको दायाँतर्फको नसा च्यापिएको भए दायाँ खुट्टामा र बायाँतर्फको च्यापिएको भए बायाँ खुट्टामा असह्य दुखाइ महसुस हुन्छ।
मेरुदण्डका हड्डीहरूबीच रहेको नरम भाग जसलाई ‘इन्टरभर्टेब्रल डिस्क’ भनिन्छ, त्यो फुटेर वा बाहिर निस्किएर नसामा दबाब परेपछि यो समस्या उत्पन्न हुन्छ, जसलाई चिकित्सकीय भाषामा ‘डिस्क हर्निएसन’ र आम भाषामा ‘स्लिप डिस्क’ वा ‘डिस्क प्रोल्याप्स’ भनिन्छ। डिस्कले शरीरको भार धान्ने र झट्का सोस्ने काम गर्ने भएकाले दैनिक हिँडडुल, बसाइ वा कामकै क्रममा पनि कहिलेकाहीँ यो च्यातिन वा बाहिर निस्किन सक्छ।
नसा च्यापिने समस्या अत्यन्तै सामान्य भए पनि यसलाई लिएर अनावश्यक रूपमा डराउनु पर्दैन किनभने नसा च्यापिँदैमा पक्षघात (प्यारालाइसिस) हुँदैन र सबै बिरामीलाई शल्यक्रिया पनि आवश्यक पर्दैन। नसा च्यापिएका सय जना बिरामीमध्ये केवल २ देखि ५ जनालाई मात्र शल्यक्रिया आवश्यक पर्ने र बाँकी ९५ देखि ९८ प्रतिशत बिरामीहरू औषधि, फिजियोथेरापी, नियमित व्यायाम र जीवनशैली सुधारबाट नै पूर्ण रूपमा निको हुने डा. विजुक्छेले जानकारी दिएका छन्।
हिजोआज साना बालबालिकादेखि वयस्कसम्म मोबाइल र कम्प्युटरको अत्यधिक प्रयोग गर्ने भएकाले उनीहरू बस्ने गलत तरिका (पोस्चर) का कारण मांसपेशीमा निरन्तर भार पर्न गई मांसपेशी थाक्छ र दुखाइ सुरु हुन्छ। त्यसैले कम्प्युटर र मोबाइल चलाउँदा बस्ने तरिका र उपकरण प्रयोग गर्ने शैलीमा विशेष ध्यान दिन आवश्यक छ।
नेपालमा सन् २००६ देखि स्पाइन सर्जरीको अभ्यास सुरु गरेका डा. विजुक्छेका अनुसार अहिलेको आधुनिक प्रविधिले गर्दा यो शल्यक्रिया अझ सुरक्षित, प्रभावकारी र कम पीडादायी बन्दै गएको छ।
अहिले अत्याधुनिक स्क्रुज, रड तथा सानो प्वालबाटै गरिने ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’ जस्ता प्रविधि उपलब्ध छन्, जसले बिरामीलाई छिटो निको हुन मद्दत गर्दछ। उपचारको मुख्य उद्देश्य बिरामीलाई पुनः सामान्य जीवन र आफ्नो दैनिक काममा फर्काउनु रहेकाले सही बस्ने बानी, नियमित व्यायाम तथा तौल नियन्त्रणले यस्ता समस्याको रोकथाम गर्न सकिन्छ।
उमेर बढ्दै जाँदा हड्डी खिइनु एक प्राकृतिक प्रक्रिया भए पनि नियमित व्यायामले मांसपेशी बलियो बनाई यसको असरलाई कम गर्छ।
कम्मर दुखाइबाट बच्न लामो समय एउटै अवस्थामा नबस्न, होचो स्थानमा पलेटी मारेर लामो समय बस्ने बानीबाट जोगिन र प्रत्येक आधा घण्टामा केही मिनेट उभिने वा हिँड्ने बानी बसाल्न डा. विजुक्छेले सुझाव दिएका छन्। धेरै दुखेको अवस्थामा केही समयका लागि औषधि प्रयोग गर्न सकिने भए पनि यसको दीर्घकालीन समाधान भने सही जीवनशैली, तौल नियन्त्रण र नियमित व्यायाम नै हो।






डिसी नेपाल





Facebook Comment