अहिलेको सरकारले पहिलो प्रहार मधेशमाथि गरेको छ : प्रचण्ड

डिसी नेपाल
२६ भदौ २०८३ १८:२८

जनकपुर। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले रास्वपा नेतृत्वको सरकारले मधेश र मधेशी जनतामाथि पहिलो प्रहार गरेको टिप्पनी गरेका छन्।

शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै संयोजक प्रचण्डले मधेशी जनताले आशावादी भएर जिताएको रास्वपा नेतृत्वको सरकारले सबैभन्दा बढी पीडा मधेश र मधेशवासीलाई नै दिएको बताए।

सरकारले यहाँका गरीब, मजदुर, किसानमाथि नै प्रहार गरेको प्रचण्डको भनाई छ। मधेशसंग जोडिएका भारतका सीमानाकाको रक्षा गर्दै आएका मधेशी जनतालाई नै भारतबाट सामान ल्याउँदा कर लगाउने सरकारको नीतिप्रति आपत्ति जनाए।

प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो एक अभिव्यक्तिमा नेपालले भारतको सीमा मिचेको भनेको नै मधेशी जनतालाई लक्षित गरी भनिएको प्रचण्डले बताए। प्रधानमन्त्री बालेनको सो अभिव्यक्तिले मधेशी जनताको अपमान गरेको प्रचण्डले उल्लेख गरे।

मधेशी जनताले मधेशको छोरो प्रधानमन्त्री हुने भनेर विश्वासका साथ दिएको भोटले उल्टै मधेशी जनतामाथि नै प्रहार भएको उनले बताए।

सरकारको बजेटर र नियुक्ति पनि मधेशको विरुद्धमा रहेको प्रचण्डको भनाई छ। समय बितेसंगै मधेशका जनताले गलत ठाउँमा भोट दिएको भन्ने समिक्षा गर्ने प्रचण्डले बताए। संयोजक प्रचण्डले अब फेरि जेनजी युवाहरुले यो सरकारको विरोधमा विद्रोह गर्ने दाबी गरे।

सरकार मधेशी जनता विरोधी रहेको महशुस गरेकै कारणले अहिले रास्वपाकै सांसदहरु सरकारको विरोधमा लागेको उनले बताए। मधेशका मन्त्रीहरुलाई अपमान गरेर हटाइनु, मधेशी जनताले पक्कै बुझ्नेछ र चाँडै मधेशी जनताले सरकारको विरोधमा उत्रिने प्रचण्डले उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *