गणेश नेपाली आत्मदाह प्रकरण: राजनीतिक दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौं : गगन थापा

डिसी नेपाल
२६ असार २०८३ १४:०६

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षणका रूपमा चित्रण गरेका छन्।

यो घटनालाई कुनै राजनीतिक बहस वा दोषारोपणको विषय बनाउन नहुनेमा जोड दिँदै उनले यो विशुद्ध रूपमा एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय भएको बताएका हुन्।

विगत र वर्तमानमा कसको दोष थियो भनेर संसद् वा सडकमा व्यर्थ बहस गर्नुभन्दा पनि मृतकका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ र उनीहरूको दुःखमा कसरी मल्हम लगाउन सकिन्छ भन्नेबारे आ-आफ्नो ठाउँबाट सोच्न र सक्दो सहयोग गर्न उनले अनुरोध गरेका छन्।

नेता थापाले यस घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने बताए। हामीले आफैंसँग केही कठिन प्रश्न सोध्नैपर्ने बेला आएको उल्लेख गर्दै उनले एउटा युवा किन यस्तो चरम निराशाको बिन्दुसम्म पुग्छ र आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ भनी प्रश्न गरे।

राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्नेमा किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन् भन्नेबारे समाज, परिवार, राज्य र नागरिकका रूपमा हामी कहाँ चुक्यौं भन्दै उनले गम्भीर आत्मसमीक्षाको माग गरेका छन्।

यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो आत्मघाती बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको श्रद्धाञ्जली हुने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *