संसदमा गृहमन्त्रीको भावुक अभिव्यक्ति : जनताको सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो

डिसी नेपाल
२६ असार २०८३ १६:०७

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा गृहमन्त्री सुधन गुरुङ भावुक बनेका छन्। राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनी केहीबेर बोल्न नसकी भावुक देखिएका थिए।

सभामुख डोलप्रसाद अर्यालबाट समय लिएर रोष्टममा पुगेका गृहमन्त्री गुरुङ केही क्षण गम्भीर मुद्रामा मौन रहे र असहज महसुस भएपछि केही समयका लागि रोष्टमबाट बाहिरिएका थिए। केही समयपछि पुनः रोष्टममा फर्किएका उनले भावुक हुँदै आफ्नो धारणा राखे।

संसदमा उठेका प्रश्नहरूको प्रतिवाद गर्दै गृहमन्त्री गुरुङले मुखले मात्रै सेवाको कुरा गर्ने समय सकिएको बताए। उनले भने, ‘घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन। त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो, अब हामीले हातले काम गर्नुपर्छ। हामीले आफ्नो जनताको सेवा गर्नुपर्छ।’

उनले आफ्नो कामलाई केही सांसदहरूले ‘स्टन्टबाजी’ भनी टिप्पणी गरेकोप्रति असन्तुष्टि जनाउँदै अगाडि थपे, ‘मलाई कसैका लागि स्टन्टबाजी गर्ने कुनै इच्छा छैन। म यो देशको सेवा गर्न आएको हुँ।’

गणेश नेपालीको मृत्युको विषयलाई लिएर संसदमा भएको चर्को बहसप्रति लक्षित गर्दै गृहमन्त्री गुरुङले प्रश्न गरे, ‘म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो हस्पिटलमा तपाईंहरू कति जना पुग्नुभएको थियो? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ, उहाँहरूमध्ये को–को त्यहाँ हुनुहुन्थ्यो?’

उनले आफू र आफ्नो टिमले गृह प्रशासनलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा निरन्तर छलफल गरिरहेको जानकारी दिँदै जनताको पीडामा केवल राजनीति मात्र गर्न नहुने संकेत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *