माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
इलाम। इलाम सदमुकामबाट झापाको व्यापारिक केन्द्र विर्तामोड जोड्ने छोटो दूरीको केचना-कञ्चनजङ्गा सडक (मेची कोरिडोर) अन्तर्गत माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न भएको छ। इलाम गरपालिका-११ को सोयाक र माइ नगरपालिका-९ को चिसापानी जोड्ने माइखोला बेलासेमा चालु आर्थिक वर्षमा सङ्घीय सरकारको रु एक करोड ११ लाख २८ हजार ९२३ को लागतमा बेलीब्रिज जडान सम्पन्न भएको हो।
सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार माइखोला बेलासेको बेलीब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। १८० फिट लम्बाइ र १४ फिट चौडाइको उक्त बेलिब्रिज निर्माणको जिम्मा बिबी-मेरिस्का-मल्लिका-साइना जेभीले पाएको थियो। भारत सरकारबाट अनुदानस्वरुप प्राप्त भएको बेलिब्रिज निर्माणका सामग्री भारतीय प्राविधिक आएर जडा गरेकाले काम सम्पन्न भएको उनले जानकारी दिए।
यहाँ रहेको पक्की पुल गत असोज १८ गतेको वर्षासँगै आएको बाढीले भाँचेपछि बेलीब्रिज जडान गरी यातायात सञ्चालन गरिएको सुचारु गरिएको प्रमुख भट्टराईले बताए। पुल भाँचिएपछि सडक डिभिजन कार्यालयले हिउँदयाममा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरेको थियो।
बेलीब्रिज जडान भएपछि ताप्लेजुङ र पाँचथरका विभिन्न क्षेत्रबाट इलामको नेपालटार-मङ्गलबारे हुँदै झापा जान र झापाबाट पाँचथर र ताप्लेजुङ फर्कन यातायात व्यवसायी र यात्रीलाई सहज भएको छ। मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ माइखोलास्थित राजदुवालीमा दैनिकजसो सडक अवरुद्ध हुन थालेपछि अधिकांश यातायात व्यवसायीले यो मार्ग प्रयोग गर्न थालेका छन्।
पाँचथरको रविबाट झापाको विर्तामोड सवारी सञ्चालन गर्दै आएका चालक सुमन रम्तेलले बेलिब्रिज जडानसँगै व्यवसायीलाई राहत मिलेको बताए। “मेची राजमार्गअन्तर्गत राजदुवाली क्षेत्रमा पानी पर्नासाथ सडक अवरुद्ध हुने समस्याले यातायात व्यवसायी र यात्रीले हैरानी खेप्नु परिरहेको थियो भने जोखिम पनि उत्तिकै छ”, उनले भने, “यो सडक सञ्चालन भएपछि हामीलाई आवागमनमा सहज भएको छ।”
यस्तै, मेची कोरिडोरअन्तर्गत पर्ने पुवाखोलामा पनि बेलीब्रिज निर्माण भइरहेको छ। इलाम नगरपालिका-९ गोलाखर्क र वडा नं ११ सोयाक जोड्ने पुवाखोलामा बेलीब्रिज जडानका लागि भौतिक संरचनाहरू तयार भइसके जनाउँदै सडक डिभिजन कार्यालयका कार्यालयका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले भारतबाट अनुदानस्वरुप प्राप्त भएको बेलिब्रिज निर्माणका सामग्री ढुवानी गरी जडान गर्न बाँकी रहेको बताए।
सङ्घीय सरकारको रु दुई करोड २० लाख ३४ हजार २३१ को लागतमा बेलिब्रिज जडानको जिम्मा असार मसान्तसम्म सक्ने गरी बिबी-मेरिस्का-मल्लिका-साइना जेभीले पाएको घिमिरेले बताए। “बेलिब्रिजका लागि भौतिक संरचनाहरू तयार भइसकेका छन् तर बेलिब्रिज निर्माणका सामग्री ढुवानी नभएकाले जडान हुन सकेको छैन”, उनले भने, “ढुवानी र जडानका लागि अझ केही समय लाग्ने देखिन्छ।”
सो स्थानमा गत वर्ष सङ्घीय सरकारको रु एक करोड ४३ लाख ७६ हजार २९७ बराबरको लागतमा जडान गरिएको बेलिब्रिज पनि गत असोज १८ गते आएको बाढीले बगाएपछि सडक पूर्णरूपमा बन्द छ। बेलीब्रिज निर्माण सम्पन्न भएपछि वर्षातकाे समयमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालन हुनेछ। यसले त्यस क्षेत्रमा सामान ढुवानी गर्न र यात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।
मेची राजमार्गको वैकल्पिक सडकका रूपमा लिइएको सो सडकको इलामबाट विर्तामोडसम्म ५० किलोमिटर दूरी रहेको छ। इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ। बाँकी ठेक्का लागेर निर्माण भइरहेको छ।
यस्तै सिमलगोला-तिल्केनी सडकअन्तर्गत जोगमाई खोलामा बेलीब्रिज निर्माण सुरु भएको छ। सङ्घीय सरकारको रु तीन करोड ३७ लाख चार हजार १२६ को लागतमा जडान हुने सो बेलीब्रिज निर्माणको जिम्मा डिसी कन्ट्रक्सन प्रालि उदयपुरले पाएको छ।
बेलीब्रिज जडानका लागि भौतिक संरचना तयार भइसके पनि भारतबाट अनुदानस्वरुप प्राप्त भएको बेलिब्रिज निर्माणका सामग्री हालसम्म ढुवानी नभएकाले जडान हुन नसकेको इञ्जिनियर घिमिरेले जानकारी दिए। उक्त स्थानमा गतवर्ष सङ्घीय सरकारको रु एक करोड ९१ लाख २१ हजार ६३२ को लागतमा निर्माण गरिएको बेलिब्रिज पनि गत असोज १८ को बाढीले बगाएको थियो। उनका अनुसार निर्माणाधीन पुवाखोला र जोगमाई खोलाको बेलिब्रिज २३० फिट लम्बाइ र १४ फिट चौडाइको हुनेछ।
भारत सरकारले बेलीब्रिज निर्माणका सामग्री नपठाउँदा काममा ढिलाइ
दुवै खोलामा बेलीब्रिज जडानका लागि भौतिक संरचना तयार भए पनि भारतबाट बेलीब्रिज निर्माणका लागि आवश्यक पर्ने सामग्री समयमा नपठाउँदा काममा ढिलाइ भइरहेको डिभिजन प्रमुख भट्टराईले बताए। डेढ महिना अघि सबै संरचना तयार भएको जानकारी पत्र भारतमा पठाइएको भन्दै हालसम्म आवश्यक सामग्री ढुवानी नहुँदा काम रोकिएको उनले बताए।
“भारत सरकारले आफैँ ढुवानी गरेर जडान समेत गरिदिने भन्ने सहमति भएको हो। तर त्यसका लागि अहिलेसम्म आवश्यक सामग्री ढुवानी भएको छैन”, इन्जिनियर घिमिरेले भने, “यस विषयमा जानकारी लिँदा यता पठाउन तयार गरिएका सामग्री प्राकृतिक विपद्का कारण उतै प्रयोग भएकाले ढिलाइ भएको जानकारी पाएका छौँ।”
यथाशिघ्र ती सामग्री यता ढुवानी गरिदिनका लागि परराष्ट्र र गृह मन्त्रालयमार्फत पहल भइरहेको उनले बताए। “भन्सारका जाँचका लागि चार दिनअघि मात्र भारत सरकारले कागजात पठाएको जानकारी पाएका छौँ। सम्भवत सोमबारसम्ममा फाइल बन्छ”, सडक डिभिजन कार्यालयका प्रमुख भट्टराईले भने, “अबको करिब एक सातामा सबै सामग्री ढुवानी हुने सम्भावना छ, तर निश्चित भने भएको छैन।” आवश्यक सामग्रीसहित जडान गर्ने प्राविधिक टोली पनि आएमा एउटा जडान गर्न करिब दुई साता लाग्न जनाउँदै उहाँले प्राविधिक टोली पनि आएमा एक महिनामा दुवै बेलीब्रिज जडान भइसक्ने उल्लेख गरे।
पक्की पुल निर्माणका लागि ठेक्का आह्वान
यसैबिच, मेची कोरिडोरअन्तर्गत माइखोला बेलासेमा पक्की पुल निर्माण हुने भएको छ। पक्की पुल निर्माणका लागि सडक डिभिजन कार्यालयले ठेक्का आह्वान गरेको छ। यही असार १७ गते बोलपत्र आह्वान भएको र आगामी साउन १७ गते बोलपत्र खोलिने सूचना अधिकारी घिमिरेले बताए। सो पुल सम्झौता भएको ३० महिनासम्ममा निर्माण सम्पन्न गर्नुपर्नेछ। रासस






डिसी नेपाल





Facebook Comment