नेपाल दुई होइन, तीन ढुङ्गाबीचको तरुल भयो : परराष्ट्रविद् श्रेष्ठ

डिसी नेपाल
२७ असार २०८३ १८:४३

काठमाडौं। परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको भूराजनीतिक अवस्था दुई ढुङ्गाबीचको तरुलबाट तीन ढुङ्गाबीचको तरुलमा परिणत भएको बताएका छन्।

शनिबार नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको ‘नेपालको भूराजनीतिमा छिमेकी सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि र नेपाली सेनाले एसपिपीकोलागि सम्झौता अगाडि बढाएपछि नेपालको भूराजनीतिक अवस्था थप संवेदनशील बनेको बताए।

उनले भने, ‘साथिहरु पृथ्वीनारायण शाहलाई कोट गरेर नेपाल दुई ढुङ्गाबीचको तरुल भन्नुहुन्छ। म चाहिँ एमसिसी पास गरेपछि र आर्मीले एसपिपी ल्याउने भनेपछि नेपाल ढुङ्गाबीचको तरुल हैन, तीन ढुङ्गाबीचको तरुल भयो। दुईवटा ल्यान लेभर र एउटा स्काई लेभर।’

श्रेष्ठले नेपाल कमजोर देखिए पनि यसको आफ्नै अस्तित्व रहेको उल्लेख गर्दै त्यो अस्तित्वमाथि चुनौती आए छिमेकी मुलुकहरू पनि प्रभावित हुने बताए।

‘तरुल सफ्ट छ, डेलिकेट छ, तर तरुलको अस्तित्व मेट्न खोजे भने वरिपरीका ढुङ्गा पनि आएर तिमीहरूलाई टुक्रा–टुक्रा गर्न सक्छन्,’ उनले भने।

उनले नेपालको भूराजनीतिमा सन्तुलित र शान्तिपूर्ण कूटनीति आवश्यक रहेको बताए। नेपाललाई कुनै पनि शक्ति राष्ट्रबीचको द्वन्द्वको केन्द्र बनाउन नहुने उनको भनाइ थियो।

‘नेपाललाई वारको सेन्टर बनाउनु हुँदैन। नेपाललाई चीन विखण्डन गर्नेहरूको अखडा बनाउन हुँदैन। नेपालको भूमिलाई द्वन्द्वको भूमि बनाउन हुँदैन,’ श्रेष्ठले भने।

उनले नेपाललाई शान्तिको क्षेत्रका रूपमा स्थापित गर्नुपर्ने धारणा राख्दै अमेरिका र चीन दुवैले शान्ति क्षेत्रको अवधारणालाई समर्थन गर्ने बताए। भारतले पनि आफ्नो प्रभाव क्षेत्रको दृष्टिकोणभन्दा माथि उठेर नेपाललाई शान्ति क्षेत्रका रूपमा समर्थन गर्ने समय आएको उनको भनाइ थियो।

‘नेपाललाई शान्तीको क्षेत्र बनाउनु पर्छ, अमेरिकाले पनि शान्तीको क्षेत्रलाई समर्थन गर्छ। चीनले पनि शान्तीको क्षेत्रलाई समर्थन गर्छ। भारतभन्दा चीन शक्तिशाली भएकोले चीन नेपालतर्फ नफर्कियोस् भन्नका लागि भारतले पनि नेपाललाई शान्ति क्षेत्रको रूपमा समर्थन गर्ने बेला आएको छ,’ उनले भने।

कार्यक्रममा पूर्वराजदूत लीलामणि पौडेल, पूर्वराजदूत राजेश्वर आचार्य, पूर्व नेपाली राजदूत टंक कार्कीलगायतका वक्ताहरूको उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *