वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने पाँच जना काठमाडौंबाट पक्राउ

डिसी नेपाल
२८ असार २०८३ ७:५२

काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न आकर्षक मुलुकहरूमा पठाइदिने र मोटो तलब दिलाउने प्रलोभनमा पारेर सर्वसाधारणबाट लाखौँ रकम ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

आकर्षक रोजगारीको बहानामा रकम असुलेर सम्पर्कविहीन भएको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौंको बुढानिलकण्ठ बस्ने सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, तारकेश्वर बस्ने बर्दियाका ४२ वर्षीय धन बहादुर शाही, टोखा बस्ने ताप्लेजुङका ४८ वर्षीय उमेश लिम्बु, काठमाडौं महानगरपालिका-३ बस्ने तनहुँकी २१ वर्षीया सचिता परियार र बुढानिलकण्ठ बस्ने खोटाङका ४१ वर्षीय निरोज राई रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले छुट्टाछुट्टै देश पठाइदिने भन्दै पीडितहरूबाट मोटो रकम असुलेका थिए।

ठगीको विवरणअनुसार कुनसाङ लामाले युएई पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख ७ हजार रुपैयाँ र धन बहादुर शाहीले जर्जिया पठाइदिने प्रलोभनमा पारेर अर्का एक पीडितबाट २ लाख ९५ हजार रुपैयाँ ठगी गरेका थिए। यसैगरी, उमेश लिम्बुले बेलारूस पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ, सचिता परियारले रोमानियाका लागि १ लाख ५० हजार रुपैयाँ र निरोज राईले टर्की पठाइदिने भन्दै दुई जना पीडितहरूबाट ७ लाख ९० हजार रुपैयाँ उठाएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

रकम लिएर लामो समयसम्म सम्पर्कविहीन बनेपछि पीडितहरू न्यायका लागि प्रहरीकहाँ पुगेका थिए। अपराध अनुसन्धान कार्यालयको टोलीले खोजी कार्य तीव्र पार्दै कुनसाङ र धन बहादुरलाई बिहीबार तथा उमेश, सचिता र निरोजलाई शुक्रबार काठमाडौंका फरक-फरक ठाउँबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *