भानुभक्तले नेपाली भाषामार्फत विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाए: परराष्ट्रमन्त्री शिशिर खनाल

डिसी नेपाल
२९ असार २०८३ ९:५५

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट विश्वभर रहेका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताएका छन्।

नेपाली शिक्षा परिषद् र भानु माध्यमिक विद्यालयले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘भानु प्रतिमामा माल्यार्पण समारोह’लाई सम्बोधन गर्दै मन्त्री खनालले नेपाली भाषाले नेपाललाई संसारभरका नेपालीसँग जोड्ने महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरेजस्तै भानुभक्त आचार्यले भाषा र साहित्यमार्फत नेपालीहरूको भावना एकताबद्ध बनाएको उल्लेख गरे। उनका अनुसार वर्तमान समयमा नेपालको ‘सफ्ट पावर’ नेपाली भाषा, धर्म, संस्कृति र सभ्यता नै हो। संसारको जुनसुकै कुनामा रहेका नेपालीलाई पनि नेपाली भाषाले एक–अर्कासँग जोड्ने र आफ्नोपनको अनुभूति गराउने उनले बताए।

मन्त्री खनालले भानुभक्त र घाँसीको प्रसंग स्मरण गर्दै समाजसेवा र राष्ट्र निर्माणमा प्रत्येक नागरिकको भूमिका महत्वपूर्ण हुने धारणा राखे। घाँसीले आफ्नो नाम रहोस् भन्ने उद्देश्यले कुवा खनेझैँ हरेक नागरिकले पनि समाज र राष्ट्रका लागि केही न केही योगदान दिनुपर्ने उनको भनाइ थियो।

तनहुँको चुँदीमा जन्मिएका मन्त्री खनालले आफूलाई भानुभक्त आचार्यसँग भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै भानु जयन्तीले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर प्रेरणा दिने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले भानु माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको भानुभक्त आचार्यको प्रतिमा नेपालकै पहिलो प्रतिमा भएको बताउँदै यसको ऐतिहासिक महत्व रहेको जानकारी दिइन्।

परिषद्को अगुवाइमा विसं २०१६ असार २९ गते स्थापना गरिएको उक्त प्रतिमामा हरेक वर्ष माल्यार्पण गर्दै भानु जयन्ती मनाउने परम्परा रहिआएको छ। विसं २०१६ मा स्थापना भएको उक्त प्रतिमाको अनावरण तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *