मान्छेको रोजीरोटी खोसेर आत्महत्या गर्न बाध्य पार्नु पनि गोली हानेसरहको अपराध हो : ज्ञानेन्द्र शाही
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले नागरिकको जीवनभन्दा ठूलो कुनै नियम, सत्ता वा पद हुन नसक्ने बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने अडान राख्दै सरकारको विभेदकारी कार्यशैलीमाथि गम्भीर प्रश्न उठाए।
विगतमा ‘सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो’ भन्दै राजनीति गर्नेहरू नै अहिले सत्तामा पुगेपछि ‘मान्छेको जीवनभन्दा नियम ठूलो’ भन्दै हिँडेको आरोप उनले लगाए। राज्यको नीतिका कारण कुनै पनि नागरिकको जीवन समाप्त हुने अवस्था सिर्जना गरिनु आफैँमा एउटा गम्भीर अपराध भएको उहाँको तर्क थियो।
सदनमा बोल्दै सांसद शाहीले भने, “मान्छेको हत्या केवल गोली हानेर मात्र हुँदैन। कुनै नागरिकको बाँच्ने आधार खोसेर, रोजीरोटी बन्द गरेर, उसलाई निराशा र पीडाको यस्तो अवस्थामा पुर्याउनु कि ऊ आत्महत्या गर्न बाध्य होस्, त्यो पनि गोली हानेसरहकै ठूलो अपराध हो।”
सडकमा जथाभावी पार्किङ गर्न पाउनुपर्छ भन्ने पक्षमा आफूहरू कतै पनि नरहेको प्रष्ट पार्दै उहाँले यस विषयमा भइरहेका भ्रामक प्रचारहरू तत्काल बन्द गर्न आग्रह गरे।
ट्राफिक नियम उल्लंघन गर्दा सर्वसाधारण नागरिकलाई सडकमा तुरुन्तै कारबाही हुने तर सिटबेल्ट समेत नलगाई सवारी चलाउने राज्यका उच्च पदस्थ व्यक्तिहरूमाथि कारबाही किन नहुने भन्दै उनले कानुनी विभेदप्रति आक्रोश पोखे।
सांसद शाहीले आत्मदाह पश्चात् जलनबाट पीडित भएका मुगुका युवा गणेश नेपालीलाई अस्पताल लैजाने क्रममा अपनाइएको अमानवीय प्रक्रियाप्रति पनि कडा आपत्ति जनाए।
गम्भीर रूपमा जलेका बिरामीलाई तत्काल सुरक्षित एम्बुलेन्समार्फत उपचारस्थल पुर्याउनुपर्नेमा अपराधीलाई जस्तो हिँडाएर लगिएको दृश्यले राज्यको संवेदनाहीनता छताछुल्ल पारेको उनले बताए।
ती युवालाई समयमै उचित उपचार उपलब्ध गराइएको थियो वा थिएन, थप उपचारका लागि भारत लैजान सकिने अवस्था हुँदाहुँदै किन ढिलाइ गरियो र अन्ततः मृत्यु भइसकेपछि विमानस्थलमा कुन उद्देश्यले गतिविधि गरियो भन्ने विषयमा राज्यले संसद्मा स्पष्ट जवाफ दिनुपर्ने र यसको उच्चस्तरीय छानबिन हुनुपर्ने जोडदार माग उनले गरे।






डिसी नेपाल





Facebook Comment