बाढी र पहिरोका कारण म्याग्दीको रेलेखोला जलविद्युत् आयोजना बन्द, विद्युत् उत्पादन ठप्प
default
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा सञ्चालित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण पूर्ण रूपमा बन्द भएको छ।
अविरल वर्षासँगै रेलेखोलामा आएको बाढी आयोजनाको बाँध क्षेत्र (इन्टेक) मा पसेर क्षति पुर्याएपछि गत असार २८ गतेदेखि नै विद्युत् उत्पादन पूर्ण रूपमा रोकिएको हो।
आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाढीले बाँधको भौतिक संरचनामा क्षति पुर्याउनुका साथै बाँधस्थलसम्म पुग्ने पहुँच मार्ग (सडक) समेत विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध बनेको छ।
सडक अवरुद्ध भएका कारण क्षतिग्रस्त संरचनाको तत्काल मर्मत सम्भार गर्न र निर्माण सामग्री लैजान समेत कठिनाइ भइरहेको छ। विद्युत् उत्पादन ठप्प भएपछि आयोजनाले दैनिक ठूलो मात्रामा आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ।
गत वर्ष मात्र निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको यस जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् अन्नपूर्ण गाउँपालिकाकै दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो।
बाढी र पहिरोका कारण आयोजना बन्द भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा समेत ६ मेगावाट विद्युत् आपूर्ति घटेको छ। अवरुद्ध सडक सञ्चालनमा ल्याई बाँधको मर्मत गरेर मात्रै पुनः विद्युत् उत्पादन सुरु गर्न सकिने आयोजनाले जनाएको छ।






डिसी नेपाल





Facebook Comment