बिहीबारदेखि मध्य र पश्चिम नेपालमा वर्षा बढ्ने मौसमविद्को पूर्वानुमान
काठमाडौं। मौसमविद्हरूले आगामी केही दिन मध्य र पश्चिम नेपालमा मनसुन थप सक्रिय भई वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र मंगलबारको तुलनामा बुधबार वर्षामा केही कमी देखिए पनि बिहीबारदेखि भने मध्य र पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ्ने स्पष्ट सङ्केत देखिएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव बलियो रूपमा कायम रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेर तराई भूभाग नजिक रहेको तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा मौसम थप सक्रिय बन्न लागेको विभागको भनाइ छ। हाल देशभरकै हिमाली र तराई भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ।
विगतको तथ्याङ्क हेर्दा पछिल्लो १२ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिमको बझाङमा ५४.८ मिलीमिटर वर्षा मापन भएको छ। यसैगरी पछिल्लो २४ घण्टामा बागमती प्रदेशको सिन्धुपाल्चोक आसपास तथा कोशी प्रदेशका केही स्थानहरूमा भारी वर्षा भएको विभागले रेकर्ड गरेको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज हिमाली क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा पनि निरन्तर वर्षा हुन सक्छ।
यी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि वर्षाको सम्भावना बलियो रहे पनि मधेस प्रदेशमा भने तुलनात्मक रूपमा अन्य क्षेत्रको भन्दा कम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।
विभागले भारी वर्षा र अविरल झरी हुन सक्ने क्षेत्रका बासिन्दाहरूलाई विशेष सजगता अपनाउन अपिल गरेको छ।
नदी तथा खोला आसपासका तटीय क्षेत्र, पहिरोको उच्च जोखिम रहेका पहाडी भिरालो जमिन तथा कमजोर भूबनोट भएका क्षेत्रमा बस्ने नागरिकहरूलाई आवश्यक सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरिएको छ।






डिसी नेपाल





Facebook Comment