बुटवलमा ६ लाख बढी नक्कली नोटसहित ६ जना पक्राउ, नोट छाप्ने उपकरण बरामद

डिसी नेपाल
३१ असार २०८३ १६:१२

बुटवल । बुटवल उपमहानगरपालिका–६, नेपालगन्ज रोडस्थित एक पसलमा छापा मारी प्रहरीले ६ लाख २२ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने आधुनिक उपकरणहरूसहित ६ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा बुटवल–११ का ३६ वर्षीया गंगाकुमारी पूर्वछाने, पोखरा–१ का किरणकृष्ण तिवारी, कपिलवस्तुका सञ्जय थारू, भक्तपुरका ४१ वर्षीय रामचन्द्र खत्री, दोलखाका ३८ वर्षीय पासाङ तामाङ र भारतको पश्चिम बंगाल, सिलिगुडीका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन्।

विशेष सूचनाका आधारमा प्रहरीले अभियुक्तहरूको घर तथा कोठामा गरेको खानतलासीका क्रममा १ हजार दरका ६२२ थान नक्कली नोट फेला पारेको हो।

साथै, गिरोहले प्रयोग गर्दै आएको फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग गरिने एक कार्टुन कागज, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ, प्लास्टिक पेपर र नोट काट्ने मेसिनसमेत प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवस्तवका अनुसार पक्राउ परेका सबै छ जनामाथि मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *