पहाडी तथा तराईका केही स्थानमा भारी वर्षाको जोखिम

डिसी नेपाल
३१ असार २०८३ २१:३९

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न भागमा वर्षाको गतिविधि बढ्न सक्ने जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर अवस्थाभन्दा केही माथि रहेर नेपालको तराई क्षेत्र नजिक रहेको तथा पूर्वी भागमा सरदर स्थान आसपास अवस्थित रहेको जानकारी दिएको छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका सीमित क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार बिहीबार र शुक्रबार देशभर सामान्यतया मौसम बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको समेत सम्भावना रहेको छ।

आगामी दुई दिन कोशी र बागमती प्रदेशका हिमाली भूभागसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *