पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध, दक्षिण भेगसँगको सडक सम्पर्क विच्छेद
गलकोट (बागलुङ)। लगातारको वर्षापछि खसेको पहिराका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि बागलुङको दक्षिण भेगसँगको सडक सम्पर्क प्रभावित भएको छ भने बुटवलतर्फ आवतजावत गर्ने सवारीसाधन बेलबगर क्षेत्रमा रोकिएका छन्।
जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोरमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरी आवश्यक पहल भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।
उनका अनुसार सडकमा थुप्रिएको ढुंगा र माटो हटाउन आवश्यक उपकरण परिचालन गर्ने तयारी भइरहेको छ। मौसम अनुकूल रहेमा पहिरो पन्छाएर यथाशीघ्र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएसँगै बागलुङको दक्षिण भेगका स्थानीयवासी, यात्रु तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत असर परेको छ। बुटवल तथा अन्य गन्तव्यतर्फ जाने सवारीसाधन बेलबगर क्षेत्रमा रोकिएका छन् भने यात्रुहरू वैकल्पिक व्यवस्था नहुँदा समस्यामा परेका छन्।
वर्षायाम सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरो खस्ने क्रम बढेकाले जोखिमयुक्त सडकमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन जिल्ला प्रशासन र प्रहरीले आग्रह गरेका छन्। सम्बन्धित निकायले मौसमको अवस्थालाई ध्यानमा राख्दै सडक खुलाउने कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।






डिसी नेपाल





Facebook Comment