६७ वर्षीय वृद्धको फुटेको ब्रेन एभीएमको बिनाचिरफार सफल उपचार, चिकित्सा क्षेत्रमा नयाँ रेकर्ड
काठमाडौं। काठमाडौं मेडिकल कलेज (केएमसी) ले चिकित्सा क्षेत्रमा एक असाधारण र ऐतिहासिक सफलता हासिल गरेको छ।
६७ वर्षको उमेरमा फुटेको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग ‘ब्रेन एभीएम’ को चिरफार नगरी न्युरोइन्टरभेन्सन प्रविधिमार्फत सफल उपचार गरिएको छ।
चिकित्सकहरूका अनुसार यति बढी उमेरमा फुटेको एभीएमको यस आधुनिक प्रविधिबाट सफल उपचार भएको नेपालकै चिकित्सा इतिहासमा यो पहिलो घटना हो।
दीर्घकालीन कलेजो रोगबाट पहिलेदेखि नै पीडित ६७ वर्षीय हरिप्रसाद कँडेल अचानक शौचालय जाने क्रममा बेहोस भएका थिए। करिब तीन घण्टासम्म अचेत रहेका उनलाई परिवारले तत्काल काठमाडौँ मेडिकल कलेजको आकस्मिक कक्षमा पुर्याएको थियो।
अस्पतालमा उनको तुरुन्तै सीटी स्क्यान गर्दा मस्तिष्कको असामान्य स्थानमा ठूलो रक्तस्राव अर्थात् हेमाटोमा देखियो। रक्तस्राव भएको ठाउँ सामान्य नभएका कारण त्यसको वास्तविक कारण पत्ता लगाउन चिकित्सकहरूले थप विशेष परीक्षण गर्ने निर्णय गरे।
केएमसीको अत्याधुनिक बाइप्लेन क्याथल्याबमा न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा बिरामीको डीएसए एन्जियोग्राफी गरियो। परीक्षणका क्रममा मस्तिष्कमा रगत पुर्याउने धमनी र रगत फर्काउने शिराबीच जन्मजात असामान्य रूपमा बनेको रक्तनलीको जालो (ब्रेन एभीएम) फुटेर नै यो रक्तस्राव भएको पुष्टि भयो।
एभीएम जन्मजात हुने एक दुर्लभ विकृति हो, जुन सामान्यतया युवावस्थामै देखिने वा फुट्ने गर्छ। ६७ वर्षको उमेरमा पुगेर यो फुट्नु आफैँमा अत्यन्तै दुर्लभ र उच्च जोखिमपूर्ण अवस्था मानिन्छ। बिरामीको कलेजोको समेत जटिलता भएकाले उपचार प्रक्रियामा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेलको टोली पनि सँगै संलग्न भएको थियो।
रोगको सही पहिचान भएपछि चिकित्सकहरूले टाउकोको चिरफार नगरी तिघ्राको रक्तनलीबाट अत्यन्तै सानो क्याथेटर मस्तिष्कसम्म पुर्याए। उनीहरूले न्युरोइन्टरभेन्सन (एन्डोभास्कुलर) प्रविधिका साथै आवश्यक स्टेन्ट र बेलुन प्रविधिको प्रयोग गरी उक्त एभीएमलाई सुरक्षित रूपमा बन्द गर्न सफलता पाए।
यो लामो र जटिल प्रक्रियापछि मस्तिष्कको रक्तस्राव पूर्ण रूपमा नियन्त्रणमा आयो। उपचारपछि हरिप्रसादको स्वास्थ्यमा उल्लेखनीय सुधार आउनुका साथै उनी केही दिनमै होसमा फर्किए र हाल उनको अवस्था सामान्य रहेको छ।
यो अभूतपूर्व सफलतापछि हरिप्रसादकी पत्नी सुजाता कँडेलले श्रीमान्को पुनर्जन्म भएको भन्दै खुसी व्यक्त गरेकी छिन् भने स्वयम् हरिप्रसादले पनि चिकित्सक टोलीप्रति आभार प्रकट गरेका छन्।
उपचारको नेतृत्व गरेका डा. पौडेलका अनुसार मस्तिष्कको असामान्य स्थानमा रक्तस्राव देखिँदा त्यसलाई साधारण स्ट्रोक मात्र ठानेर बस्नु हुँदैन। यस्तो बेला एभीएम वा एन्युरिज्म जस्ता विकृतिको सम्भावना खोज्न डीएसए एन्जियोग्राफीसहितको न्युरोइन्टरभेन्सन मूल्याङ्कन आवश्यक हुन्छ।
समयमै सही पहिचान र आधुनिक प्रविधिको प्रयोग हुन सके यस्ता गम्भीर बिरामीको ज्यान बचाउन सकिने यो घटनाले प्रमाणित गरेको छ। नेपाली कांग्रेसका नेता डा. सुनील शर्माद्वारा सञ्चालित केएमसी अस्पतालका लागि मात्र नभएर यो सफलता समग्र देशकै स्वास्थ्य क्षेत्रका लागि एउटा ठूलो गौरवको विषय बनेको छ।






डिसी नेपाल





Facebook Comment