पूर्वमन्त्री थारुको निधन

डिसी नेपाल
३२ असार २०८३ १९:०२

राँझा (बाँके)। पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता फत्तेसिंह थारुको ८७ वर्षको उमेरमा नेपालगञ्जमा निधन भएको छ।

वि.सं. १९९६ मा बाँकेको थपुवा गाउँ (हाल बैजनाथ गाउँपालिका) मा जन्मिनुभएका नेता थारुको हृदयघात भइ वेस्टर्न अस्पतालमा उपचारको क्रममा आज निधन भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए। उनका अनुसार नेता थारुको दाहसंस्कार शुक्रबार राप्ती नदीको सिधनियाघाटमा गरिने भएको छ।

राप्रपा नेता तेजविक्रम शाहका अनुसार, नेता थारु २०३८ साल र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए। वि.सं. २०५१ मा उनी बाँके निर्वाचन क्षेत्र नं–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। नेता थारु शिक्षा, सञ्चार, कृषि, रक्षा, उद्योग र वाणिज्यलगायत गरी सात पटक मन्त्री भएका थिए।

नेता थारुले २०२३ सालमा बाँकेको हस्नापुर गाउँपञ्चायतको प्रधानपञ्च भएर राजनीति आरम्भ गरेका थिए। उनी तीन पटक बाँके जिल्ला पञ्चायतको सभापतिसमेत भएका थिए। नेता थारुका दुई श्रीमती तथा चार छोराछोरी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *