नयाँ बसपार्कभित्र जथाभावी रूपमा यात्रु तानेलाई कारबाही गरिने
काठमाडौं। काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कभित्र जथाभावी रूपमा यात्रु तान्ने तथा दुःख दिनेलाई कारबाही गरिने भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठनका प्रतिनिधि, नेपाल प्रहरी तथा लोत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिको आज बसेको संयुक्त बैठकले बसपार्कलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन उक्त निर्णय गरेको हो।
पछिल्लो समय सरकारले नयाँ बसपार्कसहित कलङ्की, कोटेश्वर, बल्खु, चाबहिललगायत क्षेत्रमा जथाभावी रूपमा यात्रुको झोला तान्ने तथा दुःख दिनेहरूविरुद्ध पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।
प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बसपार्कभित्र यात्रु तान्ने, भीडभाड सृजना गर्ने तथा अफवाह फैलाउने व्यक्तिविरुद्ध प्रहरीले कडा कारबाही गर्दै आएको बताए।
बैठकमा चालक, सहचालक तथा अन्य कर्मचारीलाई अनिवार्य रूपमा पोशाक लगाउन र परिचयपत्र धारण गर्नसमेत निर्देशन दिइएको छ। लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बसपार्कभित्र अनुशासन कायम गर्दै यातायात सेवालाई थप व्यवस्थित बनाउन आवश्यक पहल भइरहेको बताए।
काठमाडौं महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमती खोला किनारमा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल ६० भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन्।






डिसी नेपाल





Facebook Comment