देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार गम्भीर बन्नुपर्छ : कुलमान घिसिङ

डिसी नेपाल
२ साउन २०८३ १७:१९

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन कार्यकर्तालाई आग्रह गरेका छन्।

उज्यालो नेपाल पार्टी खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले डिजिटल सदस्यता वितरणसँगै गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने अभियान सञ्चालन गरिने बताए।

उनले भने, ‘देशभरी आगामी तीन महिनामा तीन लाख सदस्यता वितरण गर्ने भनेर डिजिटल सदस्यता वितरण र गाउँ–गाउँमा पुगेर जनतासँग संवादको एउटा बाटो पनि हुन्छ। सदस्यता वितरणले व्यापक रूपमा उज्यालो नेपाल पार्टीलाई जनतासम्म पुग्ने कार्यक्रममा धेरै सहयोग पुग्नेछ। आगामी तीन महिनाभित्र व्यापक रूपमा सदस्यता वितरण र संगठन निर्माणमा सबैजना लाग्नुहोला।’

त्यसैगरी, अध्यक्ष घिसिङले वर्तमान राजनीतिक अवस्था र सरकारको भूमिकाप्रति चिन्ता व्यक्त गर्दै देश पुनः द्वन्द्वतर्फ उन्मुख हुन सक्ने आशंका रहेको बताए। उनले सरकार र सबै राजनीतिक दलले गम्भीरता अपनाएर देशलाई द्वन्द्वबाट जोगाउन साझा प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने, ‘आज जुन हिसाबले देशमा सरकार र राजनीतिक पार्टीहरूले अहिलेको परिस्थितिमा विभिन्न किसिमको अवस्था सिर्जना गरेका छन्। यसरी करिब तीन–चार महिना पुग्न लाग्यो। तर चार महिनाकै अवधिमा यो देशमा एक किसिमको द्वन्द्व सिर्जना हुने अवस्थामा पुग्न लागेको हो कि भन्ने शंका लागेको छ। यसमा सरकार अत्यन्त गम्भीर भएर लाग्नुपर्नेछ। सम्बन्धित सबै पार्टीहरू पनि यो देशलाई द्वन्द्वबाट बाहिर ल्याउन लाग्नुपर्छ। लामो समयको द्वन्द्वबाट नेपाल धेरै समय राजनीतिक द्वन्द्वमा फसिरह्यो। फेरि झन् ठूलो द्वन्द्वमा जाने अवस्था सिर्जना हुन लागेको हो कि भन्ने हामीले महसुस गरेका छौं।’

घिसिङले यस्तो अवस्था आउनुमा सरकारको सबैभन्दा ठूलो जिम्मेवारी रहेको दाबी गरे। दुई तिहाइको बहुमतसहित जनताबाट विश्वास प्राप्त सरकारले आम नागरिकको इच्छा, आकांक्षा र मागलाई सम्बोधन गर्न जिम्मेवार ढंगले काम गर्नुपर्ने उनको भनाइ थियो।

उनले विगत तीन–चार महिनाकै अवधिमा पाँच जना नेपाली नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै त्यसले देशको वर्तमान परिस्थिति गम्भीर बनेको संकेत गरेको बताए।

उनले भने, ‘दुई तिहाईको सरकार जनताले सबैभन्दा ठूलो बहुमत दिएर पठाएको, जनताले विश्वास दिएर पठाएको सरकारले आम नागरिकको इच्छा, आकांक्षा र मागलाई सम्बोधन गर्नलाई जिम्मेवार भएर लाग्नुपर्छ। अहिले विगत तीन, चार महिनामै पाँच जना नेपाली नागरिकले आत्मदाह गर्नुपर्ने परस्थिती सिर्जना भयो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *