भक्तपुरमा दुई मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
भक्तपुर । मध्यपुर थिमि–५, एसएस चोकमा शनिबार दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छिन्।
शनिबार अपराह्न करिब साढे १२ बजे एसएस कलेजतर्फबाट बागमती पेट्रोल पम्पतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प २९०५ नम्बरको मोटरसाइकल र नयाँथिमिबाट राधेराधेतर्फ आउँदै गरेको बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी दीपककुमार कार्कीका अनुसार दुर्घटनामा बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल चालक उदयपुरको कटारी–२ घर भई हाल काठमाडौँको तीनकुने बस्ने १९ वर्षीय कविर कार्कीको मृत्यु भएको हो। गम्भीर घाइते भएका कार्कीको मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
सोही मोटरसाइकलमा पछाडि सवार काठमाडौंको सिनामंगल बस्ने १९ वर्षीया आलिया विक गम्भीर घाइते भएकी छिन्। उनको अहिले सघन उपचार भइरहेको छ।
अर्को मोटरसाइकलका चालक खोटाङको दिक्तेल रूपाकोट मझुवागढी–२ घर भई हाल भक्तपुरको बालकोट बस्ने २४ वर्षीय मनीष राई भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। राईलाई प्रहरी वृत्त थिमिले नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।






डिसी नेपाल





Facebook Comment