शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङको सफल परीक्षण, ६ महिनाभित्र देशभरका निकुञ्जमा लागू गरिने

डिसी नेपाल
३ साउन २०८३ ७:३४

काठमाडौं। शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई-टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको विशेष पहलमा निकुञ्जमा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधालाई मध्यनजर गर्दै शनिबारदेखि यो डिजिटल प्रणालीको परीक्षण सुरु गरिएको हो।

उक्त परीक्षण पूर्ण रूपमा सफल भएपछि आगामी हप्तादेखि निकुञ्जको पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई-टिकेटिङ सेवा सञ्चालनमा ल्याइने निकुञ्ज कार्यालयले जनाएको छ।

यो नयाँ व्यवस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयको सहयोगमा आवश्यक डिजिटल पूर्वाधारहरू तयार गरिँदै छ। जसअन्तर्गत पहिलो चरणमा कम्प्युटर, थर्मल प्रिन्टर तथा क्यूआर स्क्यानर लगायतका आधुनिक उपकरणहरू उपलब्ध गराइने निकुञ्जले उल्लेख गरेको छ।

यसैगरी, विद्युत् तथा भरपर्दो इन्टरनेट सुविधा पुगेका निकुञ्जका अन्य प्रवेशद्वार र सैनिक चेकपोस्टहरूमा समेत यो ई-टिकेटिङ सेवा क्रमशः विस्तार गर्दै लैजाने योजना बनाइएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले यस प्रविधिलाई शिवपुरीमा मात्र सीमित नराखी आगामी ६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा पूर्ण रूपमा सञ्चालनमा ल्याउने महत्त्वाङ्क्षी लक्ष्य लिएको छ। यो अनलाइन प्रणाली लागू भएपछि निकुञ्ज प्रवेश गर्ने पर्यटकहरूको प्रक्रिया झन्झटमुक्त र छिटो हुने मन्त्री चौधरीले बताइन्।

यसका साथै राजस्व संकलन तथा व्यवस्थापन प्रणाली थप पारदर्शी र प्रभावकारी बन्ने र सेवाग्राहीले बिनाकुनै सास्ती आधुनिक सेवा प्राप्त गर्न सक्ने विश्वास मन्त्रालयले लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *