नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढे बीबीएसका विद्यार्थी, उद्धार प्रयास जारी

डिसी नेपाल
३ साउन २०८३ ८:१४

काठमाडौं। सर्लाहीको सदरमुकाम मलंगवामा एक युवक नेपाल टेलिकमको अत्यधिक अग्लो टावरमा चढेपछि स्थानीय क्षेत्रमा तनाव र कौतुहलता उत्पन्न भएको छ।

सर्लाहीको गोडैता नगरपालिका-९ बकैनिया घर भएका २४ वर्षीय अफसर आलम हुसैन मलंगवास्थित नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरको सबैभन्दा माथिल्लो टुप्पोमा पुगेका हुन्।

घटनाबारे जानकारी पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन तथा स्थानीय बासिन्दाहरू उनको सुरक्षित उद्धारका लागि घटनास्थलमा केन्द्रित भएका छन्।

टावरको फेदमा सुरक्षाकर्मी र सर्वसाधारणको ठूलो भीड लागेको छ भने हुसैनलाई फकाएर तथा सुरक्षित प्राविधिक उपायहरू अपनाएर तल झार्ने प्रयास भइरहेको छ।

प्रारम्भिक जानकारीअनुसार टावरमा चढ्ने हुसैन मलंगवास्थित सर्लाही क्याम्पसमा बीबीएस तहमा अध्ययनरत विद्यार्थी हुन्। उनी कुन मानसिक तनाव वा मागका कारण त्यति अग्लो र जोखिमपूर्ण टावरको टुप्पोमा पुगेका हुन् भन्ने वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन।

सुरक्षा निकायले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार युवकलाई सकुशल भुइँमा ओराल्नका लागि हरसम्भव प्रयास जारी राखिएको छ भने उनी टावरमा चढ्नुको पछाडिको कारणबारे पनि थप अनुसन्धान अगाडि बढाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *