बुधबारदेखि वर्षा कम हुने
काठमाडौं। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश : कम हुँदै जाने जानकारी दिएको छ। विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ।
विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमश कम हुँदै जाने जानकारी दिए। उनका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। विभागले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थान वर्षाको सम्भावना छ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम बर्षाको सम्भावना छ।
त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने छ। ती क्षेत्रमा बाढीपहिरो, डुबान तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment