रसुवामा रातिको समयमा सवारी सञ्चालनमा रोक

डिसी नेपाल
४ साउन २०८३ १९:२४

रसुवा। मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै रसुवाका दुई प्रमुख सडक खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, मनसुन पूर्वतयारी तथा प्रतिकार्य जिल्ला कार्ययोजना, राजमार्गमा हुने अवरोध हटाउने सम्बन्धी योजनासहित जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ।

भिरालो भूबनोट, कमजोर चट्टान तथा माटोको अवस्था, नदी किनाराका सडकमा हुन सक्ने कटान र मनसुनका कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै वेत्रावती–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक खण्ड तथा पासाङ ल्हामु राजमार्गअन्तर्गत ग्राङदेखि धुन्चेसम्मको सडकमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार साउन ४ गते (आज) देखि अर्को सूचना जारी नभएसम्म यो व्यवस्था लागू हुनेछ। अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारी साधन भने सञ्चालन गर्न पाइने जनाइएको छ। कार्यालयले यातायात व्यवसायी, सरोकारवाला र सर्वसाधारणलाई जोखिमपूर्ण समयमा यात्रा नगर्न आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *