देशभर मनसुनी वायुको प्रभाव: ६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना

डिसी नेपाल
५ साउन २०८३ ६:२७

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले मुलुकभर मौसमी गतिविधि सक्रिय बनेको छ।

विभागका अनुसार आज देशभर अधिकांश भागमा बादली रहेको छ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, देशका पहाडी भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना औँल्याइएको छ।

मौसम पूर्वानुमान बुलेटिनअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

यसैगरी, आज राति पनि देशभर साधारणतया बदली नै रहनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको मौसमी अवस्थाबारे जानकारी दिँदै महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा वर्षा हुने जनाएको छ।

साथै मधेश र कर्णाली प्रदेशका पहाडी क्षेत्रका साथै सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *