बारा–पर्सामा वातावरणमैत्री उद्योग सञ्चालनमा जोड

डिसी नेपाल
७ साउन २०८३ २१:३२

वीरगञ्ज (पर्सा)। प्रतिनिधिसभाका सांसद तथा उद्योगीहरूले वातावरणमैत्री उद्योग सञ्चालनमा जोड दिएका छन्। वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सहकार्यमा सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’ ले यहाँ आज आयोजना गरेको ‘पर्सा–बारामा अवस्थित नदीहरूको स्वच्छता प्रवर्द्धन, औद्योगीकीकरण प्रदूषण व्यवस्थापनलगायत उद्योगका समस्या र समाधानका उपाय’ विषयक अन्तक्र्रियाका वक्ताहरूले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा रहेका उद्योगलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले पथलैया–वीरगञ्ज करिडोरमा सञ्चालित उद्योगले प्रशोधन नगरी रासायनिकयुक्त फोहर पानी सिर्सिया नदीमा मिसाइरहेको विषयमा आरोपप्रत्यारोप गर्नेभन्दा पनि सामूहिक जिम्मेवारीका साथ समाधान गर्नुपर्ने धारणा राखे।

उनले भने, “उद्योगबाट निस्किने फोहोरको व्यवस्थापनको जिम्मा राज्यले लिनुपर्छ, तर उद्योगले पनि आफ्नो प्रतिबद्धता र जिम्मेवारी पूरा गर्नुपर्छ, अनियमिता हुनुहुँदैन, यसबारेमा दीर्घकालिन समाधान खोज्ने सवालमा अगाडि बढ्नुपर्छ।”

वातारणलाई असर नपर्ने गरी उद्योग सञ्चालन हुने नीति बनाएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ। प्रतिनिधिसभाका सांसद हरि पन्तले बारा–पर्सा करिडोरमा सञ्चालित उद्योगले प्रशोधन नगरी रासायनिकयुक्त फोहर पानी सिर्सिया नदीमा मिसाउँदा जनजीवनको स्वास्थ्यमा असर परेको उल्लेख गर्दै भने, “हाम्रो एउटै उद्देश्य भनेको सिर्सिया नदीलाई सफा र प्रदूषणमुक्त बनाउनु हो।” अर्को प्रतिनिधिसभा सदस्य अरविन्द साहले बारा र पर्सा जिल्लामा स्थानीयको स्वास्थ्यलाई मध्यनजर गरी उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले सिर्सिया नदीमा देखिएको समस्यालाई सङ्घीय र स्थानीय सरकार, उद्योगी र स्थानीय मिलेर संयुक्त रूपमा समाधानको बाटो खोज्नुपर्ने धारणा राखे।

उनले भने, “सिर्सिया नदीमा उद्योगीले मात्रै फोहर मिसाएका छैनन्, तर जताबाट पनि उद्योगी नै पीडित हुने गरेका छन्, हामीले नै आक्षेप नआउने गरी प्रतिफल आउने गरी काम गरौँ।” बारा र पर्साका प्रमुख जिल्ला अधिकार धर्मेन्द्रकुमार मिश्र र भोला दाहालले सम्बन्धित निकायको प्राप्त छलफलका आधारमा सिर्सिया नदीमा देखिएको समस्या समाधानका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी उद्योगीहरूले उद्योग सञ्चालन गर्न अनुमतिपत्र दिने राज्यले नै उद्योगबाट उत्पादित फोहरको उचित व्यवस्थापनको व्यवस्था मिलाउनुपर्ने धारणा राखे।

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट वर्षौंदेखि प्रशोधन नगरी रसायनयुक्त फोहर पानी सिर्सिया नदीमा मिसाउँदा दूषित पानीका कारण आसपासका बासिन्दाले दुर्गन्ध, विभिन्न स्वास्थ्य समस्या, खेतीपातीमा नोक्सानी तथा पशुचौपायामा प्रतिकूल असर भोग्नुपरेको गुनासो गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *