सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

डिसी नेपाल
८ साउन २०८३ १९:२१

चितवन। भरतपुर महानगरपालिका-१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज दिउँसो करिब ३ः२० बजेको समयमा रोयल फर्मासिटीकल्स उद्योगको दोस्रो तल्लामा ‘एयर कन्डिस्नर (एसी)’ को ‘कुलिङ ग्यास’ भर्ने क्रममा सिलिण्डर पड्किएको थियो।

सिलिण्डर पड्किँदा त्यहीँ काम गरिरहेका भरतपुर महानगरपालिका-१२ का ३० वर्षीय प्रमोद कोइराला र पर्सा जिल्ला पर्टेर्वा सुगौली गाउँपालिका-५ का २८ वर्षीय इम्तियाज देवान गम्भीर घाइते भएका थिए।

घाइतेमध्ये कोइरालालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा दिउँसो करिब ४ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

उनका अनुसार अर्का घाइते देवानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको उनले उल्लेख गरे। दुवै जना रोयल फर्मासिटीकल्स उद्योगमा एसीमा ग्यास भर्नका लागि त्यहाँ गएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *