निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

डिसी नेपाल
८ साउन २०८३ २१:१४

चितवन। सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले बताएका छन्। वर्डफ्लुको सङ्क्रमण देखिएपछि सरकारी क्षेत्रबाट गर्नुपर्ने काम निरन्तर रूपमा गरिनुका साथै जनमानसमा सकारात्मक प्रभाव पर्ने गरी सूचना सम्प्रेसण गरेसँगै सङ्क्रमण नियन्त्रण हुँदै गएको व्यवसायीले बताएका हुन्।

सङ्क्रमण नियन्त्रणका लागि सचेतनासँगै आवश्यक सावधानी अपनाइएकाले बढी क्षति हुन नपाएको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए। उनका अनुसार कुखुरापालक सङ्घ र नेपाल ह्याचरी उद्योग सङ्घ केन्द्रीय समितिले पशु सेवा विभागलाई लिखित रूपमा धन्यवाद ज्ञापन गरेको छ।

पत्रमा भनिएको छ, ‘सबै कर्मचारीको समूह अहोरात्र खटिएर वर्डफ्लुको सङ्क्रमण नियन्त्रणतर्फ जानुका साथै आमसमुदायमा नकारात्मक प्रभाव नपर्ने गरी सचेतनामूलक सूचना सम्प्रेषण र सावधानी अपनाइ देशको आत्मनिर्भर व्यवसायलाई धरासयी हुनबाट जोगाउन गर्नुभएको योगदान अतुलनीय छ।’

सङ्घका अध्यक्ष पोखरेलले विभागले गरेको पहल र निरन्तरको योगदानका कारण थप क्षति हुनबाट पोल्ट्री क्षेत्र जोगिएको बताए। किसान र व्यवसायीलाई सङ्कट हुँदा तत्काल सम्बोधन गर्न सकेमा कम क्षतिमा काम हुन्छ भन्ने उदाहारण अहिले सरकारले दिएको उनले बताए। तत्काल राहत दिएर किसानलाई पुनः काम गरिहाल्ने वातावरणसमेत सरकारी तबरबाट सृजना भएको उनको भनाइ छ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले पशु सेवा विभागका महानिर्देशकसहितको समूहलाई भेट गरी वर्डफ्लु नियन्त्रणमा लिएको तदारुपता प्रति आभार व्यक्तसमेत गरेको बताए। ९९ दशमलव ९९ प्रतिशत रोग नियन्त्रण भएको जनाउँदै उहाँले अरु ठाउँमा सङ्क्रमण नदेखिनेमा आफूहरू विश्वस्त रहेको बताए।

नेपालको कृषि क्षेत्रमध्ये एक मात्र आत्मनिर्भर व्यवसाय पोल्ट्री व्यवसायीकरण र आधुनिकीकरण हुँदै देशको कूल ग्राहस्थ उत्पादनको करिब तीन प्रतिशत हिस्सा ओगटेको जनाउँदै सङ्घका केन्द्रीय अध्यक्ष लामिछानेले प्रत्यक्ष रूपमा पाँच लाख जनालाई रोजगारी उपलब्ध गराइरहेको बताए। नेपालको पोल्ट्री व्यवसाय क्षेत्रमा करिब रु १६० अर्ब लगानी रहेको भन्दै यसको संरक्षण राज्यतर्फबाट हुनुपर्नेमा उनले जोड दिए।

साउन १ गतेयता नेपालमा वर्डफ्लु देखिएको छैन। पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार नेपालभरि आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ। ११ लाख ६५ हजार ६६३ अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको जनाउँदै काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्र तीन लाख ६७ हजार ८३५ पन्छी नष्ट गरिएको उल्लेख गरे।

महानिर्देशक दाहालका अनुसार प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ। रु ५० करोड बजेट रकमान्तर भई रु ५२ करोड व्यवस्थापन भएकामा हालसम्म १०४ जना कृषक र फार्मको खातामा रु ५० करोड ७१ लाख १५ हजार ७०४ राहत रकम निकासा गरिसकिएको छ।

“देशभर रहेका पन्छी रोग अन्वेषण प्रयोगशालाहरूले तीव्र रूपमा परीक्षण अघि बढाएका छन्। सरकारको तदारुपता र किसानको सहयोगका कारण वर्डफ्लु नियन्त्रणमा आउन सकेको हो। अब थप सङ्क्रमण हुने सम्भावना कम छ”, डा दाहालले भने। सङ्क्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ्न थालेको छ भने किसानले उचित मूल्य पाउन थालेका छन्। यसअघि, सङ्क्रमणका कारण मूल्य घटेपछि किसान प्रभावित बनेका थिए। चल्ला बिक्री नहुँदा नष्ट गर्नुपर्ने बाध्यतासमेत आएको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *