होर्मुज जलमार्गको सुरक्षाका लागि अमेरिका-बेलायत गठबन्धनको तयारी
वासिंटन। पर्सियन खाडी र स्ट्रेट अफ होर्मुजमा बढेको तनावका बीच व्यापारिक जहाजहरूको सुरक्षाका लागि संयुक्त राज्य अमेरिका र बेलायतले एक अन्तर्राष्ट्रिय समुद्री गठबन्धन बनाउने तयारी सुरु गरेका छन्।
एक्सियोसको प्रतिवेदन अनुसार आगामी हप्ता लन्डनमा यो गठबन्धन गठन गर्ने उद्देश्यले उच्च स्तरीय बैठक आयोजना गर्ने योजना बनाइएको छ। युरोपेली कूटनीतिज्ञ र जानकार स्रोतहरूलाई उद्धृत गर्दै एक्सियोसले जनाए अनुसार यस बैठकमा अमेरिकी रक्षा सचिव पीट हेग्सेथका साथै विभिन्न पश्चिमी र मध्य पूर्वी राष्ट्रका रक्षा मन्त्रीहरू र सैन्य नेताहरू सहभागी हुने सम्भावना छ।
यद्यपि, यात्रा कार्यक्रम र मिति अझै छलफलकै क्रममा रहेकाले यसलाई अन्तिम रूप दिन प्रयास भइरहेको छ। ह्वाइट हाउसका एक अधिकारीले यस संयुक्त पहलको पुष्टि गरे तापनि वासिङ्टनस्थित ब्रिटिस दूतावासले भने यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ।
अमेरिकी नेतृत्वमा बेलायत र फ्रान्सले हालैका महिनाहरूमा होर्मुज जलमार्गको सुरक्षाका लागि सम्भावित अन्तर्राष्ट्रिय गठबन्धनका विषयमा धेरै देशहरूसँग छलफल गरिसकेका छन्। एक युरोपेली कूटनीतिज्ञका अनुसार यो प्रयास इरानसँगको जारी द्वन्द्वबाट अमेरिकाको सम्भावित निकास रणनीतिको एक हिस्सा हो।
तेहरान विरुद्ध सैन्य कारबाही तीव्र पार्ने चेतावनी दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलमार्गमा हुने प्रत्येक आक्रमणको जवाफमा इरानका पुल वा पावर प्लान्टहरूलाई लक्षित गरिने बताएका छन्। वासिङ्टनले अहिल्यै आफ्नो सैन्य अपरेसन समाप्त गर्ने कुनै मनसाय नदेखाएको र युद्धका मुख्य उद्देश्यहरू अझै पुरा भइनसकेको स्पष्ट पारेको छ।
व्यापारिक जहाजहरूलाई लक्षित गरी गरिएको नाकाबन्दी र होर्मुज स्ट्रेट वरपर बढेको झडपले विश्वव्यापी तेल पारवहनमा ठूलो बाधा पुर्याएको छ। समुद्री तनावका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढेपछि ह्वाइट हाउससहित विश्वभर आर्थिक दबाब सिर्जना भएको छ।
यसैबीच, उत्पन्न संकट समाधान र युद्धविरामका लागि कूटनीतिक प्रयासहरू पनि तीव्र पारिएका छन्। ओमानको एक उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार तेहरान पुगेको छ, जसले होर्मुज जलमार्ग पुनः खोल्ने र ढुवानी यातायात व्यवस्थापन गर्ने विकल्पहरूबारे छलफल गरिरहेको छ।
इरानी सरकारी समाचार एजेन्सी इरनाका अनुसार यो भ्रमण दुई देशबीचको नियमित परामर्शको निरन्तरता हो, जहाँ इरानी विदेश मन्त्री अब्बास अराघची र ओमानी समकक्षी बद्र अलबुसाइदीबीच क्षेत्रीय सुरक्षा र पर्सियन खाडीमा व्यापारिक जहाजहरूको सहज पारवहनबारे गहन कुराकानी भएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment