गाउँको साधारण माटोदेखि आतिथ्य उद्योगको शिखरसम्म : काशीराम अधिकारीको प्रेरणादायी यात्रा
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर–४ बनहरी जस्तो साधारण ग्रामीण परिवेशमा जन्मिएर नेपाली आतिथ्य तथा पर्यटन उद्योगको सर्वोच्च शिखरमा पुग्न सफल एक प्रेरणादायी व्यक्तित्व हुन्, काशीराम अधिकारी । वि.सं. २०३४ सालमा जन्मिएका अधिकारी हाल नेपालको अग्रणी होटल समूह ‘लुम्बिनी ग्रीन होटल्स एण्ड रिसोट्र्स’का ग्रुप प्रमुख कार्यकारी अधिकृत (Group CEO) का रूपमा कार्यरत छन् । व्यक्तिगत सफलताभन्दा माथि उठेर समग्र उद्योगको विकास, मानव संसाधन निर्माण र सेवा संस्कृतिको प्रवद्र्धनमा समर्पित उनको यो यात्रा निरन्तर संघर्ष, सिकाइ र सेवाप्रतिको अगाध समर्पणको ज्वलंत उदाहरण हो ।
सन् १९९९ मा भारतको ‘होटल सरवाना भवन’बाट आफ्नो औपचारिक करियर सुरु गरेका उनले त्यहीँबाटै सेवा संस्कृतिको आधारभूत ज्ञान आर्जन गरेका थिए । त्यसपछि सन् २००५ मा मलेसिया प्रवेश गरेर उनले विश्वप्रसिद्ध लक्जरी ब्रान्डहरू द रिट्ज–कार्लटन र जे.डब्लु. म्यारियट जस्ता प्रतिष्ठित होटलहरूमा प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गरे । मलेसियाको यो सफलतापछि सिंगापुर, इन्डोनेसियाका बाटाम र बालीस्थित मोन्टिगो रिसोट्र्स हुँदै म्यानमारसम्मको यात्रा तय गरेर उनले अन्तर्राष्ट्रिय आतिथ्य बजार, लक्जरी रिसोर्ट सञ्चालन र बहुसांस्कृतिक टोलीको नेतृत्व गर्ने गहिरो अनुभव बटुले ।
दुई दशकभन्दा लामो समयको यही अन्तर्राष्ट्रिय अनुभवलाई स्वदेशमै सदुपयोग गर्ने दृढ उद्देश्यसहित नेपाल फर्केका अधिकारीले यहाँको होटल उद्योगमा नयाँ र व्यावसायिक आयाम थपेका छन् । नेपाल फर्किएपछि उनले होटल द फ्लेमिङ्गो (बुटवल), सिद्धार्थ हस्पिटालिटी ग्रुप र होटल सेन्टर प्वाइन्ट (कोहलपुर) जस्ता प्रतिष्ठित संस्थाहरूमा महाप्रबन्धक तथा प्रमुख सञ्चालन अधिकृत (COO) का रूपमा सफलतापूर्वक नेतृत्व प्रदान गरिसकेका छन् ।
हाल लुम्बिनी ग्रीन होटल्स एण्ड रिसोट्र्सको बागडोर सम्हाल्दै उनले सेवा उत्कृष्टता, प्रतिभा विकास, संस्थागत संस्कृति निर्माण र समग्र पर्यटन प्रवद्र्धनमा उल्लेखनीय सफलता हासिल गरिरहेका छन् । ‘सहि आचरणका लागि नियुक्ति, सीपका लागि तालिम र चरित्रका लागि बढुवा’ भन्ने सबल नेतृत्व दर्शन बोकेका अधिकारी संस्थाको सफलता भौतिक भवन वा पुँजीले मात्र नभई सहि सोच भएका मानिसहरूले निर्धारण गर्ने गहिरो विश्वास राख्छन् ।
होटल सञ्चालनको व्यस्तताका बाबजुद उनले सयौं युवा व्यवस्थापकहरूलाई प्रशिक्षण र करियर मार्गदर्शन प्रदान गर्दै आएका छन् । नेपाललाई दक्षिण एसियाकै एक उत्कृष्ट र प्रख्यात पर्यटन गन्तव्य बनाउने दूरगामी लक्ष्य बोकेर उनी निरन्तर क्रियाशील छन् । ‘सेवा एउटा सामान्य पेशा होइन, यो त मानिसहरूको जीवनमा सकारात्मक प्रभाव छोड्ने कला हो’ भन्ने उनको यो आदर्श वाक्यले आज नेपाली आतिथ्य उद्योगलाई नयाँ दिशा निर्देश गरिरहेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment