तीन अर्बको मन्त्री निवासमाथि रवीन्द्र मिश्रको टिप्पणी: सुशासित देशमा यस्ता महल बनाइँदैन

डिसी नेपाल
११ साउन २०८३ १०:४७

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वनेता रवीन्द्र मिश्रले ललितपुरको भैंसेपाटीस्थित नवनिर्मित मन्त्री निवासलाई दक्षिण एसियाकै नमुना बाल आश्रयका रूपमा रूपान्तरण गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसमक्ष आग्रह गरेका छन्।

उनले यस विषयमा मन्त्री बादीले प्रधानमन्त्रीसमक्ष औपचारिक प्रस्ताव लैजानुपर्ने सुझाव दिएका हुन्।

सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले भैंसेपाटीमा करिब तीन अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको र हाल करिब ४० करोड रुपैयाँ खर्चेर पुनःनिर्माण भइरहेको भव्य मन्त्री निवासलाई बालबालिकाको हितमा प्रयोग गरिनुपर्ने बताए।

उनले भनेका छन्, ‘भैंसेपाटीमा झण्डै तीन अर्ब रूपैयाँको लागतमा निर्माण गरिएको र अहिले झण्डै ४० करोड रूपैयाँको लागतमा पुनर्निर्माण हुँदैगरेको आलिसान मन्त्री निवासलाई दक्षिण एशियाकै उदाहरणीय बाल आश्रयमा परिणत गरियोस् भन्ने मेरो विशेष आग्रह रहँदै आएको छ।’

विश्वका कुनै पनि सुशासित र सुसंस्कृत मुलुकमा मन्त्रीहरूका लागि यति धेरै खर्च गरेर भव्य महल बनाउने र त्यहाँ बस्ने परिपाटी नरहेको दाबी गर्दै मिश्रले उक्त भवनलाई ‘पापी निवास’ को संज्ञा दिएका छन्।

मन्त्रीहरूका लागि छुट्टै भव्य महलको सट्टा आधुनिक अपार्टमेन्ट भवनमा बसोबासको प्रबन्ध मिलाउनु सुरक्षा र राज्यको खर्च नियन्त्रण दुवै दृष्टिकोणबाट उपयुक्त हुने उनको तर्क छ। ‘मन्त्रीहरूलाई एउटा अपार्टमेण्ट भवनको विभिन्न तलामा राखियोस्, जसले सुरक्षा र खर्च दुबै दृष्टिकोणबाट सहजता ल्याउनेछ,’ उनले उल्लेख गरेका छन्।

यसैबीच, मन्त्री सीता बादीले नक्सालस्थित बाल मन्दिरको पुनःनिर्माणका लागि दिएको निर्देशनको स्वागत गर्दै मिश्रले उनको आफ्नै बाल आश्रयको अनुभवले गर्दा यस विषयको गम्भीरता र महत्त्व मन्त्री बादीले अझ राम्रोसँग बुझ्न सक्ने विश्वास व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *