चिकित्सकमाथि आक्रमणको विरोधमा पोखरामा ओपिडी सेवा ठप्प, बिरामी मार्कामा
पोखरा। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र दुर्व्यवहारको विरोधमा चिकित्सकहरू आन्दोलित भएपछि पोखराका प्रमुख अस्पतालहरूको बहिरङ्ग (ओपिडी) सेवा प्रभावित भएको छ।
नेपाल चिकित्सक संघको देशव्यापी आन्दोलनको आह्वान अनुसार पोखराका अधिकांश अस्पतालहरूमा ओपिडी सेवा पूर्ण रूपमा ठप्प पारिएको हो।
नेपाल चिकित्सक संघ गण्डकी शाखाका अध्यक्ष डा. सुनिल पनेरुका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल), गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल र फेवा सिटीलगायतका साना-ठूला अस्पतालहरूमा बहिरङ्ग सेवा बन्द गरिएको छ। अस्पतालमा ओपिडी सेवा रोकिएपछि टाढा-टाढाबाट उपचारका लागि आएका सयौँ बिरामीहरू सेवा पाउनबाट वञ्चित भई मार्कामा परेका छन्।
आन्दोलनका कारण ओपिडी सेवा प्रभावित भए पनि आकस्मिक (इमरजेन्सी) लगायतका अन्य अत्यावश्यक सेवाहरू भने निरन्तर सञ्चालनमा रहेको डा. पनेरुले जानकारी दिए। उनका अनुसार केन्द्रीय कार्यक्रम अनुसार नै गण्डकी प्रदेशमा पनि विरोध जनाइएकाले आन्दोलनको भावी स्वरूप र निरन्तरताबारे केन्द्रीय समितिको निर्णयपछि मात्रै थप स्पष्ट हुनेछ।
स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि शृङ्खलाबद्ध रूपमा भइरहेका आक्रमणका दोषीमाथि कडा कारबाही र सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने संघले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment