अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन सर्वदलीय बैठकको देशवासीमा अपिल
काठमाडाैं। सुनसरीलगायत देशका विभिन्न जिल्लाहरूमा हालै विकसित अत्यन्तै संवेदनशील, दुःखद घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिप्रति राजनीतिक दलहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार काठमाडौँमा सम्पन्न सर्वदलीय बैठकले मुलुकको विद्यमान स्थितिको गम्भीर समीक्षा गर्दै ७ बुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ।
सर्वदलीय बैठकपछि जारी संयुक्त वक्तव्यमा पछिल्ला घटनाक्रममा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै घटनामा घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
बैठकले नेपालको मुख्य पहिचान नै विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व भएको उल्लेख गर्दै सदियौंदेखि कायम पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन सम्पूर्ण देशवासीमा हार्दिक अपिल गरेको छ। आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने भएकाले लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टिको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट खोज्नुपर्नेमा दलहरूले जोड दिएका छन्।
सामाजिक सद्भाव कायम राख्न केन्द्रीय तहको प्रयास मात्र पर्याप्त नहुने ठहर गर्दै बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न आ-आफ्ना पार्टीका तल्लो तहका समितिहरूलाई निर्देशित गरेको छ। स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुन आग्रह गरिएको छ। यस्ता दुःखद घटनाहरू भविष्यमा दोहोरिन नदिन राजनीतिक दलको केन्द्रीय तहबाट निरन्तर समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत वक्तव्यमा व्यक्त गरिएको छ।
यसैगरी, संवेदनशील समयमा सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहले स्थितिलाई थप भयावह बनाउन सक्ने भएकाले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न नागरिकहरूलाई अनुरोध गरिएको छ। सञ्चारमाध्यमहरूलाई समेत संयमित र तथ्यपरक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरिएको छ।
नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व भएको स्मरण गराउँदै सर्वदलीय बैठकले अधिकतम संयमता अपनाएर परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुन बमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
अन्तमा, राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि उपस्थित सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गर्दै, उत्पन्न समस्याको दिगो र शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न दलहरूले दृढ संकल्प व्यक्त गरेका छन्।


No ads found for this position


डिसी नेपाल
Facebook Comment